काठमाडौं । जेठको प्रचण्ड गर्मीमा चिनियाँ व्यवसायी युआन मोइफु आफ्नो याङवाङ यू-८ एसयूभी चढेर नेपाल आए । झण्डै १ लाख ५० हजार डलर मूल्य पर्ने यू-८ मा उनले ग्वाङ्झाउदेखि काठमाडौंसम्मको १४ हजार किलोमिटर यात्रा गरेर आएका थिए ।
उनको यात्रा चीनमा चासो भयो वा भएन थाहा भएन । तर, नेपालमा भने लाखौं मानिसले यसलाई ध्यान दिए । यहाँका सञ्चारमाध्यममा यसले विशेष स्थान बनायो । नेपालमा यसले चर्चा पाउनुको पहिलो कारण राखेकै स्थानमा ३६० डिग्री घुम्नु हो ।
अहिले बीवाइडी विश्वभर न्यू इनर्जी भेहिकल निर्माताको रूपमा चिनिए पनि धेरैलाई थाहा नहुन सक्छ । उसले सुरूआती चरणमा पेट्रोल इन्जिनबाट मात्रै चल्ने गाडी बनाएको थियो । कम्पनीले सन् २०२२ को मार्च अगाडिसम्म पेट्रोल कार बनाउँदै आएको थियो ।
अहिले बीवाइडीले प्योर ईभी र हाइब्रिड गाडी मात्रै उत्पादन गर्दै आएको छ । बीवाइडीले अघिल्लो जुन महिनामा बिक्री गरेको ३ लाख ४१ हजार ६५८ वटा भेहिकलमा १ लाख ४५ हजार १७९ युनिट मात्र प्योर ईभी हो । बाँकी १ लाख ९५ हजार ३२ यूनिट हाइब्रिड भेहिकल हो । जुनमा हाइब्रिडको हिस्सा ५७ प्रतिशत रहेको छ ।

पछिल्ला वर्षहरूमा विद्युतीय गाडी मार्फत अटोमोबाइल क्षेत्रमा विश्वभर चर्चा कमाइरहेको चिनियाँ ब्राण्डहरू अब हाइब्रिड टेक्नोलोजीमा आकर्षित भइरहेका छन् । त्यसकै एक उदहारण बीवाइडीको अल्ट्रा लक्जरी हाइब्रिड मोडल याङ्वाङ यू-८ लाई लिन सकिन्छ । एकै स्थानमा ३६० डिग्री घुम्न सक्नेदेखि पानीमा तैरिन सक्ने जस्तो नौलो र उच्चतम प्रविधि यसमा प्रयोग गरिएको छ ।
हाइब्रिड टेक्नोलोजी नामले नै व्याख्या गरे जस्तै दुई वा बढी ऊर्जा स्रोतबाट संचालन हुन्छ । परम्परागत कारको तुलनामा कम इन्धन प्रयोग गर्ने उद्देश्यले यस्ता कार बनाइएको हो ।
हाइब्रिड इलेक्ट्रीक भेहिकलले परम्परागत इन्टरनल कम्बस्चन इन्जिनलाई इलेक्ट्रीकसँग जोड्छ । हाइब्रिड गाडीको माग बढेसँगै यसका विभिन्न नामहरू बाहिर आएका छन् । सिरिज हाइब्रिड, प्यारलल हाइब्रिड, प्लग-इन हाइब्रिड, माइल्ड हाइब्रिड, ईआरईभी जस्ता प्रविधि अहिले प्रयोग भएका छन् । चीनमा अहिले सबैभन्दा बढी चर्चा ईआरईभीको भइरहेको छ ।
याङवाङ यू-८ एक हाइब्रिड चमत्कार
याङवाङ यू-८ एसयूभीलाई धेरैले प्योर इलेक्ट्रीक भेहिकल भनेर बुझेको पाइन्छ । तर, यो वास्तवमा एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरईभी) हो । चिनियाँ अटोमोबाइल कम्पनीहरूले अहिले हाइब्रिडमा यो नयाँ प्रविधिको प्रयोगलाई जोड दिइरहेका छन् ।
ईआरईभीले कसरी काम गर्छ ?
गाडीमा रहेको हाइभोल्टेज ब्याट्रीमा चार्ज कम भएपछि स्वचालित रूपमा पेट्रोल इन्जिन स्टार्ट भएर गाडी चार्ज सुरू हुन्छ । यू-८ मा रहेको पेट्रोल इन्जिनको काम इलेक्ट्रीक मोटरलाई गुडाउन इनर्जी दिने र ब्याट्री पनि चार्ज गराउनु हो ।
यस प्रविधिको प्रयोगबाट विद्युतीय सवारी साधनहरूमा भोगिने ‘रेन्ज एन्जाइटी’ हटाउन सकिन्छ । ईआरईभी प्रविधिको सबैभन्दा ठूलो फाइदा भनेको पेट्रोल इन्जिन भएर पनि लगभग ईभीकै हारहारी वातावरणमैत्री र पावरफुल हुनु हो ।

यसमा रहेको इन्जिनले केबल जेनेरेटरको मात्रै काम गर्छ । यू-८ मा दिइएको पेट्रोल इन्जिन सीधा पाँग्रामा जोडिएको हुँदैन । यसमा ११८४ हर्सपावर क्षमताको चारवटा चक्कामा छुट्टा छुट्टै इलेक्ट्रीक मोटर दिइएको छ । त्यसलाई निरन्तर पावर दिन २.० लिटर टर्बो पेट्रोल इन्जिन रहको छ ।
बीवाइडीले आफ्नो सर्वाधिक ठूलो एसयूभीमा ४९.०५ किलोवाट आवरको ब्याट्री दिएको छ । साथै, ७५ लिटरको पेट्रोल ट्याङ्की पाउन सकिन्छ । यी दुबै इन्धनको सहायताले एक पटकमा १ हजार किलोमिटरसम्म निरन्तर गुडाउन सकिने कम्पनीको दाबी छ ।
बीवाइडीको व्यापक हाइब्रिड रणनीति
बीवाइडी हाइब्रिडमा याङ्वाङ यू-८ मा मात्रै रोकिएको छैन । उसले सील यू एसयूभीको प्लग-इन हाइब्रिड संस्करण पनि लन्च गरेको छ । यो भेहिकलमा १.५ लिटर पेट्रोल इन्जिन र १८.३ किलोवाट अवारको ब्याट्री छ ।

मे २०२४ मा, बीवाइडीले डीएम आई ५.० पीएचईभी प्लेटफर्म लन्च गरेको थियो । यो नयाँ हाइब्रिड प्रविधिमा आधारित सील-०६ डीएमआई र क्वीन एल डीएम आई जस्ता मोडेलहरूले २,१०० किलोमिटरको प्रभावकारी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
बीवाइडीको गतिशील मार्केटिङ रणनीति
बीवाइडीको ईआरईभी, पीएचईभी जस्ता प्रविधिको छनोटले एक यथार्थवादी दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । यसले परम्परागत इन्जिनहरूको भरपर्दो विश्वसनीयता र आधुनिक विद्युतीय प्रविधिको संयोजनलाई झल्काउँछ । यो रणनीति केवल बीवाइडीमा मात्र सीमित छैन ।

हाइब्रिड कारको बिक्रीमा भएको वृद्धिका कारण कीर्तिमानी नाफा कमाएको टोयोटा जस्ता दिग्गज गाडी उत्पादक पनि यसमा लागेका छन् । केही वर्षअघि अस्थायी समाधानको रूपमा देखिएका हाइब्रिड गाडीहरू अहिले आएर कार्बन उत्सर्जन घटाउने एक स्थायी उपायको रूपमा उभिएका छन् ।
याङ्वाङ यू-८ जस्ता मोडेलहरूको बिक्रीले अटोमोबाइल उद्योगमा एक महत्त्वपूर्ण क्षणको संकेत गर्छ । विद्युतीय र परम्परागत प्रविधिहरूलाई संयोजन गरेर, चिनियाँ गाडी निर्माताहरूले न केवल आफ्नो सवारी साधनहरूको आकर्षणलाई वृद्धि गरे, तीव्र रूपमा विकसित हुँदै गरेको बजारमा प्रतिस्पर्धी रहन पनि सुनिश्चितता भेट्टाएका छन् ।
रेकर्ड बनाउँदै हाइब्रिड
बीवाइडीकै अर्को सहायक ब्राण्ड फेङ चाङ बाओको हाइब्रिड मोडल बाओ-फाइभले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छ । कम्पनीको अफरोड एसयूभीले ५ हजार ९८० मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो ।

त्यसैगरी, अर्को चिनियाँ कम्पनी चेरीको सहायक ब्राण्ड फुलविनको टी-१० हाइब्रिड एसयूभीले सिंगल चार्ज र फुल ट्याङ्की इन्धनको सहायताले निरन्तर २१०० किलोमिटर गुडेर गिनिज बुकमा रेकर्ड लेखाउन सफल भएको हो । यसले चिनियाँ ब्राण्डहरूको हाइब्रिड कारमा रहेको अनौठो लगावलाई दर्शाउँछ ।
याे पनि पढ्नुहाेस् ।

