देखायो नयाँ क्लासिक ३५०, मूल्य थाहापाउन कुर्नु पर्ने

काठमाडौं । रोयल इनफिल्डले तीन वर्षअघि आफ्नो सबैभन्दा चर्चित मोटरसाइकल क्लासीक ३५० लाई ‘जे प्लेटफर्म’मा ल्याएको थियो । अहिले कम्पनीले त्यहि प्लेटफर्ममा क्लासीक ३५० लाई थप अपग्रेड गरेर २०२४ मोडल ल्याएको हो ।

कम्पनीले विभिन्न फिचर थप गर्नुका साथै नयाँ कलर अप्सन दिएर अपग्रेड गरेको छ । कम्पनीले प्रदर्शन गरेको नयाँ क्लासीक ३५० को मूल्य सेप्टेम्वर १ मा सार्वजनिक गर्ने बताएको थियो । सेप्टेम्वर १ देखि नै भारतमा नयाँ मोडलको बुकिङ तथा टेष्ट राइड कार्यक्रम सुरू हुने कम्पनीले जनाएको छ ।

आफ्नो रेट्रो लुकलाई निरन्तरता दिँदै क्लासीक ३५० मा नयाँ मोर्डन फिचर थप गरेर ल्याएको हो । यसमा एलइडी हेडलाइट, एलइडी टेल लाइट, एलइडी टर्न इन्डिकेटर, एड्जष्टेवल लिभर, गियर पोजीसन इन्डिकेटर, यूएसवी चार्जिङ पोर्ट जस्ता फिचर थप गरिएको छ ।

रोयल इनफिल्डले २०२४ मोडल क्लासीक ३५० लाई विभिन्न ११ कलर अप्सनमा बजारमा उतार्ने भएको हो । यसमा विभिन्न कलर कष्टोमाइज गर्ने अप्सन दिएको छ । हेरिटेज कलरमा जोधपुर ब्लू, मर्दाष रेड, मेदालन ब्रन्ज, कमान्डो लगायतका विभिन्न ११ कलर अप्सन दिएको छ ।

कम्पनीले यसमा कुनै मेकानिकल परिर्वतन गरेको छैन भने पुरानै ३४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २०.२ हर्ष पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले नयाँ क्लासीक ३५० लाई अलोय तथा स्पोक दुवै भेरियन्टमा उपलब्ध गराउने छ । ब्रेकिङमा सिंगल डिस्क तथा डबल डिस्क अप्सन उपलब्ध हुनेछ ।

नयाँ मोटरसाइकलको मूल्यमा केही वृद्धि हुने अनुमान गर्न सकिन्छ । अहिले बिक्री भइरहेको क्लासीक ३५० भारतमा १ लाख ९३ हजारदेखि २ लाख २ हजार रुपैयाँसम्म (एक्स शोरुम) रहेको छ ।


Back_to_top