काठमाडौं । अन्य देशमा जस्तै नेपाली बजारमा पनि साना पावरफुल मोटरसाइकलको कल्चर बढ्दै गइरहेको देखिन्छ । कम मूल्य, आकर्षक डिजाइन, उत्कृष्ट पर्फमेन्स र फिचरले गर्दा साना सेग्मेन्टका मोटरसाइकलहरु धेरैले रुचाउन थालेका छन् ।
नेपालमा राइड सेयरिङको काम गर्ने र मिडियम बर्गका मान्छेहरुले कम बजेटमा राम्रो धेरै माइलेज दिने मोटरसाइकल खोजिरहेका हुन्छन् । यस्तोमा धेरै जसोको रोजाइमा पर्ने मोटरसाइकल भनेको १२५ सीसी सेग्मेन्ट हुनेगर्छ ।
बजारमा धेरै कम्पनीहरुले १२५ सीसी सेग्मेन्टका मोटरसाइकलहरु बिक्री गरिरहेका छन् । यी मध्य कतिपय ब्राण्डका मोटरसाइकल मूल्य र फिचरका कारण सदाबहार चर्चित रहिरहन्छन् । नेपाली बजारमा बजाज, होन्डा, टीभीएस जस्ता कम्पनीहरुले यो सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आएका छन् ।
यी ब्राण्डले बिक्री गर्ने १२५ सीसी सेग्मेन्टका तीन मोटरसाइकलका बजाज एनएस, होन्डा एसपी साइन र टीभीएस रेडरका बारेमा हामीले यहाँ चर्चा गरेका छौं । पर्फमेन्स र फिचर उस्तै उस्तै रहेका यी तीनै मोडलहरुको मूल्य ३ लाख भन्दा कम रहेको छ ।
डिजाइन
नेकेड र स्पोर्टी डिजाइनमा तयार भएका तीनै मोडलमा आकर्षक ग्राफिक डिजाइन, बडी प्यानल, चिटिक्क परेको हेडल्याम्प र फ्युल ट्याङ्क पाउन सकिन्छ । टीभीएस रेडर र होन्डा एसपी साइनमा सिंगल पिस फराकिलो सिट छ भने बजाज एनएसमा डबल पिस सिट दिइएको छ ।
इन्जिन
होन्डा एसपीमा १२३.९४ सीसीको सिगंल सिलिन्डर ४ स्ट्रोक बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ ।

टीभीएस रेडरमा १२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर आयल कुल्ड बीएस ६ इन्जिन छ । यस इन्जिनले अधिकतम ११.३८ पीएस पावर र ११.२ एनएम टर्क उत्पादन गर्छ ।
पल्सर एनएसको लिगेसी बोकेको एनएस १२५ मा १२४.४ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ११.६ बीएच पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ ।
तीनवटै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
माइलेज
यी तीनै मोटरसाइकलले ३५ देखि ४५ प्रतिकिलोमिटरसम्म प्रतिलिटर माइलेज दिने कम्पनीहरुको दावी छ । रेडरमा १० लिटरको फ्युल ट्याङ्क, एसपीमा ११.२ लिटर र एनएसमा १२ लिटरको फ्युल ट्याङ्क रहेको छ ।
फिचर
एसपीमा सीबीएस सिस्टम, सार्प एलइडी डीसी हेडल्याम्प, क्रोम मफलर कभर, साइड स्ट्यान्ड इन्जिन कटअफ, पुरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इएसपी, साइलेन्ट स्टार्टर, एड्भान्स ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।
रेडरमा यूएसबी चार्जिंग पोर्ट, अन्डर सिट स्टोरेज, आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डीआरएल, फेन्डर अप फ्रण्ट, पुरा डिजिटल रिभर्स एलसीडी कन्सोल, मल्टिकलर डिस्प्ले र डे-लाइट भिजिबलीटी जस्ता फिचर रहेका छन् ।
पल्सर एनएसमा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी लाइट, बल्ब साइड इन्डिकेटर, एलइडी टेलल्याम्प, साइलेन्ट स्टार्टर, डिटिएस सिस्टम पाउन सकिन्छ ।

सस्पेन्सन र टायर
तीनै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोसक सस्पेन्सन सेटअप छ । यी तीनवटै मोडलमा सीबीएस ब्रेकिङ सिस्टम, ट्युबलेस टायर, अलोय ह्वील दिइएको छ । अगाडि सिंगल डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक सबैका विशेषता हुन् ।
मूल्य
तीनै कम्पनीको मोटरसाइकलको मूल्य हेर्ने हो भने केही रुपैयाँले मात्रै तल माथि रहेको पाइन्छ । टीभीएस रेडरको नेपाली बजारमा नयाँ भर्सन हाल सालै सार्वजनिक भएको हो । कम्पनीले यसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, बजाज एनएसको मूल्य २ लाख ९१ हजार ९०० रुपैयाँ र होन्डा एसपीको २ लाख ९२ हजार ९०० रुपैयाँमा तोकेर बिक्री गरिरहेका छन् ।

