ठूलो ब्याट्री र अल ह्वील ड्राइभ सिस्टममा आउँदै ‘नयाँ जेडएस ईभी’

काठमाडौं । सन् २०१८ बाट बिक्री सुरु भएको एमजी जेडएस ईभीको नयाँ जेनेरेशन मोडल छिट्टै बजारमा आउने भएको छ । एमजी मोटर्सको कुल बिक्रीमा सबैभन्दा ठूलो हिस्सा रहेको जेडएस ईभी अब ‘मोडुलर स्केलेबल प्लेटफर्म’मा आउने भएको हो ।

नयाँ जेनेरेशन जेडएस ईभी अहिलेको भन्दा ठूलो साइज, पृथक डिजाइन र ठूलो ब्याट्री प्याकमा आउनेछ ।

नयाँ जेडएस ईभीको फेसिया अहिलेको भन्दा बिल्कुलै फरक छ । नयाँ मोडलमा स्प्लीट हेडलाइट, फराकिलो एयरइनटेक, अग्रेसिभ फ्रन्ट बम्पर, फ्लस रुफरेल, कर्भियर ग्लास हाउस तथा १८ इन्च ठूलो ह्वील रहने छ । यसको पछाडि भागमा पनि स्लीक र फराकिलो कनेक्टेड टेल लाइट दिइएको छ ।

नयाँ जेडएस ईभीको इन्टेरियर एमजी एमजी-फोर ईभी जस्तै देखिएको छ । यसको इन्टेरियरमा १०.२५ इन्चको टच स्कृन एमजी आईस्मार्ट इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पावर एड्जस्टेबल ड्राइभर सिट, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।

सुरक्षाको लागि एमजी पाइलट सुट एडास सिस्टम दिएको नयाँ एमजी जेडएस ईभीमा डोर ओपनिङ वार्निङ, ड्राइभर एटेन्सन अलर्ट जस्ता धेरै नयाँ फिचर थपिनेछन् ।

नयाँ जेडएसको लम्बाई ४४७६ एमएम, चौडाई १८४९ एमएम, उचाई १६२१ एमएम रहेको छ । जुुन अहिलेको जेनेरेशन मोडलभन्दा लम्बाईमा १५३ एमएम, चौडाईमा ४० एमएम ठूलो तर, उचाईमा २८ एमएम होचो छ । यसको ह्वीलवेस पनि अहिलेको मोडलभन्दा १४९ एमएम लामो बनाएर २७३० एमएम दिइएको छ ।

नयाँ जेडएस ईभीमा स्ट्याण्डर्ड ६४ किलोवाट आवरको ब्याट्री प्याक र लङ रेन्ज भर्सनमा ७७ किलोवाट आवरको ब्याट्री रहनेछ । यसको सानो ब्याट्री अप्सनले ४०२ किलोमिटरको डब्लुएलटीपी रेन्ज र ठूलो साइजको ब्याट्रीले ४८२ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।

नयाँ जेडएस ईभीको सिङ्गल मोटर अप्सनमा १२५ र १५० किलोवाटको मोटर रहने छ । ड्यूल मोटर भएको अल ह्वील ड्राइभ भर्सनमा ३२० किलोवाटको मोटर रहनेछ ।

एमजी जेडएस ईभीले ११ किलोवाट क्षमताको एसी चार्जर र १४० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । डिसी फास्ट चार्जरको मद्दतले नयाँ जेडएस ईभीलाई मात्र ३० मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

एमजीले नयाँ जेनेरेशनको जेडएस ईभी यसवर्षको चौथो क्वाटरमा सार्वजनिक गर्नेछ । यसको बिक्री भने सन् २०२५ को सुरुवातबाट हुने अनुमान गरिएको छ ।


Back_to_top