विश्वभर ईभीको बिक्री बढ्न अझै समय लाग्ने

काठमाडौं । विश्व बजारमा ईभीको बिक्रीमा उछाल आउन अझै १२ देखि १८ महिना लाग्ने मोर्गन स्यान्टले दावी गरेको छ । मोर्गनले एक रिपोर्ट सार्वनजनिक गर्दै केहि वर्षदेखि व्यापक रुपमा बढ्दै आएको ईभीको माग अहिले कमजोर बनेको उल्लेख गरेको हो । ।

विश्व बजारमा ‘न्यू इनर्जी भेहिलक’मा ब्याट्री इलेक्ट्रीकभन्दा हाइब्रिड र प्लगइन हाइब्रिड गाडीको माग उच्च बन्दै गएको रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा टोयोटा, फोर्ड, भल्भो जस्ता लेगासी बोकेका अटोमोवाइल कम्पनीहरुले घोषणा गरेको आफ्ना सबै गाडीहरु ईभी बनाउने मिति पछाडि सार्न थालेका छन् ।

मोर्गन स्यान्टलेको रिपोर्ट अनुसार अझै १ देखि डेड वर्षसम्म ईभीको संख्यात्मक बिक्री नघटेपनि ग्रोथ भने नहुने दावी गरिएको छ । पछिल्लो समयमा नयाँ ट्यारिफ लागू भएपछि अमेरिका र युरोपियन देशमा चिनियाँ ईभीको बिक्रीमा गिरावट आएको छ । अहिले उक्त बजारमा ईभीको मूल्य कम्बस्चनको भन्दा २० देखि ३० प्रतिशत धेरै छ ।

रिपोर्टका अनुसार ईभीको बिक्री स्लोडाउन हुनुको अर्को कारण ग्राहकहरुले चिनियाँ ईभी ब्राण्डलाई विश्वास नगर्नु पनि अर्को प्रमुख कारण हो । परम्परागत अटोमोवाइल कम्पनीहरुले घाटामा गरिरहेको ईभीको व्यवसाय बढाउन आर एण्ड डीमा थप लगानी गर्न जाँगर देखाइरहेका छैनन् ।

उनिहरु आफैँले नयाँ टेक्नोलोजीको विकास गर्नुभन्दा चिनियाँ राम्रा विद्युतीय स्टार्टअप ब्राण्डसँग साझेदारी गर्ने विषय अगाडि बढाइरहेका छन् ।

युरोपको ठूलो अटोमोवाइल ग्रुप स्टेलान्टीसले लिप मोटरसँग पार्टनरशिप सुरु गरेको छ । अर्को युरोपियन जायन्ट फक्सवागेनले एक्सपेङ र रिभीयनमा लगानी गर्ने देखिएको छ ।

त्यस्तै अमेरिकी कम्पनी फोर्डले एक्सपेङसँग वार्ता गरिरहेको छ भने जनरल मोटर्सले लुसिड र ली अटोसँग सम्झौता गर्ने सम्भावना रहेको छ ।

आगामी १२ देखि १८ महिना भित्र युरोपीयन र अमेरिकी कम्पनीहरुले चिनियाँ ईभीहरुसँग सम्झौता गर्ने र फेरी ईभीको बिक्रीमा उछाल आउन सक्ने मोर्गनको दावी छ ।


Back_to_top