बुलेटमा थपियो नयाँ भेरियन्ट, ३४ वर्ष पुरानो मोटरसाइकलको झल्को

काठमाडौं । रोयल इनफिल्डले भारतमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो सबैभन्दा चर्चित मोडल बुलेटको नयाँ ‘बटालियन ब्ल्याक भेरियन्ट’ ल्याएको हो ।

नयाँ भेरियन्ट बुलेटमा लामो सिट दिइएको छ, जसले यात्रा गर्न थप सहज बनाउने कम्पनीको दावी छ । कम्पनीले मोटरसाइकल रेट्रो लुकमा ल्याएको छ । झट्ट हेर्दा पुरानो बुलेटको जस्तै झल्को देखिने नयाँ भेरियन्ट कम्पनीले पुराना बुलेट मोडलहरू मन पराउने प्रयोगकर्ताहरूलाई लक्षित गरेर ल्याएको अनुमान गर्न सकिन्छ।

नयाँ भेरियन्टमा दिइएको सिट डिजाइन निकै पुरानो मोडलको बुलेट म्याचिज्मो १९९०, बुलेट इलेक्ट्रा २००२ र २०१३ मा बुलेट ५०० जस्ता मोडलमा प्रयोग भएको थियो । कम्पनीले अहिले सोहि डिजाइन नयाँ भेरियन्टमा प्रयोग गरेको हो ।

गत वर्ष सार्वजनिक गरिएको नयाँ बुलेटमा आधुनिक सिट डिजाइन र गोलाकार टेल ल्याम्प पाउन सकिन्छ । कम्पनीले नयाँ भेरियन्टको बुलेटमा भने अपडेट गरिएको पोलिगोनल टेल ल्याम्पको प्रयोग गरेको छ । यसको फ्रन्टमा सिंगल डिस्क ब्रेकसँगै सिंगल च्यानल एबीएस र रियरमा ड्रम ब्रेक दिएको छ ।

नयाँ बटालियन ब्ल्याक भेरियन्टको हेडल्याम्प युनिट, सस्पेन्सन, टर्न इन्डिकेटर्स, ह्यान्डलबार, ब्रेक र क्लच लिभर, एग्जस्ट, क्रयाङकेश र वायर स्पोक ह्वीलहरू क्रोम फिनिसिंगमा पाउन सकिन्छ ।

त्यसैगरी, यसको फ्युल ट्याङ्की र साइड प्यानलमा थ्रीडी ब्याजिङ दिइएको छ भने मोटरसाइकलको फ्युल ट्याङ्कीको दुबै छेउमा र माथि गोल्डेन पिनस्ट्रिपिङ दिइएको छ ।

कम्पनीले यसको इन्जिनमा भने कुनै परिवर्तन गरेको छैन । बुलेटमा ३४९ सीसी सिंगल सिलिन्डर, एयर र आयल कूल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड क्षमताको गियरबक्स छ ।

कम्पनीले बटालियन ब्ल्याक भेरियन्ट बुलेटको भारतीय बजारमा १ लाख ७४ हजार ८७५ रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको छ । यस बाहेक बुलेटको अन्य चार भेरियन्ट बजारमा उपलब्ध छन् ।

सन् १९३२ मा पहिलो पटक उत्पादन भएको बुलेट ३५० मोडल निरन्तर उत्पादन भइरहेको संसारकै सबैभन्दा पुरानो मोटरसाइकल हो ।


Back_to_top