१५ लाखमै एसयूभी किन्न पाइने 

काठमाडौं । तपाईं एसयूभी किन्ने योजनामा हुनुहुन्छ भने निकै राम्रो मूल्यमा एसयूभी चढ्न सक्नुहुन्छ । अहिले बजारमा १५ लाखदेखि ५० लाख रुपैयाँसम्म तिर्ने हो भने भने झण्डै २ करोड रुपैयाँ मूल्य पर्ने एसयूभी चढ्न सकिन्छ ।

सेकेन्ड ह्याण्ड बजारमा ठूला एसयूभी बिक्री गर्नेहरू बढेसँगै मूल्यमा भारी गिरावट आएको हो । रिकन्डिसन हाउस संचालकहरूको अनुसार अहिले साना गाडीले धेरै मूल्य पाउने र ठूला गाडीले गुमाउने अवस्था आएको छ ।

‘साना गाडीमा ग्राहकको रुची धेरै छ । अझ केही पुराना ब्राण्डका ह्याचब्याक र एसयूभीको रिकन्डिसनमा समेत अहिले पनि उच्च माग छ । तर, प्रिमियम मानिने ब्राण्डका पुराना गाडीको मूल्यमा व्यापक गिरावट आएको छ,’ श्रेया अटोमोबाइल्सका संचालक सचिन कुइँकेलले भने ।

उनका अनुसार अहिले बजारमा १५ लाखदेखि ५० लाख रुपैयाँसम्म खर्च गर्ने मानिसले राम्रा एसयूभी छनोट गरेर खरिद गर्न सक्छन् । तर, चल्तीका ब्राण्डका ह्याचब्याक र साना एसयूभीको मूल्य भने पहिले जस्तै नै रहेको छ ।

चाडपर्व नजिकिएसँगै नयाँ र पुराना दुवै गाडीको बजार चलायमान भएको आरके अटो सेन्टरका संचालक रमेश कोइराला बताउँछन् । ईभीको सेकेन्ड ह्याण्ड बजार बनिसकेको अवस्था नभएकाले राम्रो नेटवर्क र सर्भिस दिने कम्पनीका साना गाडी रिकन्डिसनमा बिक्री भइरहेकाे उनले बताए ।

‘अहिले बजार केही चलायमान भएको हो । तर, पहिलेकै रफ्तारमा बजार फर्किएको होइन । त्यसमा साना ईभी किन्ने ग्राहकहरू बढ्दा, त्यो संख्या रिकन्डिसनमा आउने कुरै भएन’, नेपाल रिकन्डिसन व्यवसायी संघका अध्यक्ष समेत रहेका कोइरालाले भने ।

बजारमा रहेका चल्तीका ब्राण्ड हुन्डाई र मारुती सुजुकीका गाडी नै धेरै ग्राहकको रोजाइमा पर्ने गरेको उनले बताए । ‘अहिले रिकन्डिसनमा धेरै ईभी आएका छैनन् । आएकाले पनि कर्जा सुविधा पाउँदैनन् । त्यसैले ईभीहरू सेकेन्ड ह्याण्ड बजारमा कारोबार गर्न कठिन छ,’ उनले भने ।


Back_to_top