काठमाडौं । यस वर्ष टेस्लाको बिक्रीमा २.३ प्रतिशतले गिरावट आए पनि विश्व बजारमा सर्वाधिक बिक्री गर्ने कम्पनीमा भने शीर्ष स्थानमा कायमै रहन सफल भएको छ ।
टेस्लाले सन् २०२३ को सेप्टेम्बरसम्म १३ लाख २४ हजार ७४ युनिट कार बिक्री गरेकोमा चालु वर्षको ९ महिनामा १२ लाख ९३ हजार ६५६ युनिट मात्रै कार बिक्री गर्न सकेको हो ।
अघिल्लो वर्षको तुलनामा ३० हजार ४१८ युनिटले बिक्री घटेपनि टेस्ला सबैभन्दा धेरै इलेक्ट्रीक कार बिक्री गर्ने ब्राण्ड बनेको हो । टेस्लालाई पछ्याइरहेको बीवाइडीले आफ्नो बिक्रीमा थोरै वृद्धि गरेको छ । यद्यपि, उसले टेस्लालाई भेट्टाउन सकेको छैन ।
चालु वर्षको ९ महिनामा बीवाइडीले ११ लाख ६९ हजार ५७९ युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको छ । प्लगइन हाइब्रिड कारको बिक्रीमा उछाल आउँदा बीवाइडीले न्यू इनर्जी भेहिकलमा निकै ठूलो फड्को मार्न सफल भएको हो ।
सन् २०२४ को जुलाइदेखि सेप्टेम्बर अन्तिमको तेस्रो त्रैमासमा टेस्लाले ४ लाख ६२ हजार ८९० युनिट कार बिक्री गरेको छ । यही अवधिमा बीवाइडीले ४ लाख ४३ हजार ४२६ युनिट प्योर इलेक्ट्रीक कार बेचेको हो ।
विश्व ईभी बजारमा टेस्ला र बीवाइडी मध्ये कसले धेरै ईभी बिक्री गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो त्रैमासमा बीवाइडीले ६ लाख ८५ हजार ८३० युनिट प्लगइन हाइब्रिड कार बिक्री गरेको थियो ।

