काठमाडौं । हुन्डाईले सन् २०१९ मा पहिलो पटक बजारमा ल्याएको भेन्यू मोडलको नयाँ जेनेरेशन आउने पक्का भएको छ । कम्पनीले भारतमा यसको परीक्षण सुरु गरेसँगै नयाँ जेनेरेशन मोडल आउने पक्का भएको हो ।
कम्पनीले सन् २०२२ को जुनमा फेसलिफ्ट गरेर ल्याएको भेन्यू त्यसको झण्डै तीन वर्षपछि नयाँ जेनेरेशनमा ल्याउने भएको हो । सम्भवत आगामी वर्षको मध्येसम्ममा यसको बिक्री सुरु हुनेछ ।
परीक्षणमा देखिएको तस्बिर अनुसार नयाँ भेन्यूमा नयाँ डिजाइनको ग्रिलसँगै लाइटहरुमा नयाँ लुक्स प्रदान गरिएको छ । यसको एलइडी डीआरएल क्यास्पर इलेक्ट्रीकको जस्तै देखिन्छ । नयाँ भेन्यूको अगाडिको भागसँगै पछाडि ब्यापक परिमार्जन गरिएको छ ।
नयाँ जेनेरेशन भेन्यूमा सुरक्षाको लागि लेभल २ एडास फिचर उपलब्ध हुनेछ । यसमा कम्पनीले नयाँ डिजाइनमा १६ इन्चको लो ड्रयाग अलोय ह्वील दिनेछ ।
बाहिरी लुक्स जस्तै भित्र इन्टेरियर पनि विल्कुलै नयाँ हुनेछ । यसमा अहिले आएको क्रेटामा जस्तै डिउल स्कृन लेआउट हुनेछ । नयाँ भेन्यूमा पानारोमीक सनरुफ रहने छ ।
नयाँ जेनेरेशन हुन्डाई भेन्यूमा अहिलेको जेनेरेसनकै इन्जिन प्रयोग हुनेछ । यसमा १.५ लिटरको सीआरडीआई भीजीटी डिजेल इन्जिन, १.२ लिटरको पेट्रोल तथा १.० लिटरको टर्बो पेट्रोल इन्जिन अप्सन रहनेछ । नयाँ भेन्यूको विभिन्न अप्सनमा ५ देखि ६ स्पीडको म्यानुअल र ७ स्पीड डीसीटी गियरबक्स अप्सन उपलब्ध हुनेछ ।

