सार्वजनिक यातायातमा ५ प्रतिशत सरकारको सेयर, ५ पटक कारवाहीमा परे लाइसेन्स खारेज

काठमाडौं । सार्वजनिक यातायातमा न्यूनतम ५ प्रतिशत सरकारको स्वामित्व हुनपर्ने सांसद टेक बहादुर बस्नेतले माग गरेका छन् । उनले आज विकास समितिमा आयोजित बैठकमा बोल्द सार्वजनिक यातायातमा सरकारको ५ प्रतिशत स्वामित्व हुनु पर्ने धारणा राखे ।

बैठकमा सांसद गौरिशंकर चौधरीले  फुटपाथमा गाडी पार्किङ गरेको पाइएमा तुरुन्तै कारवाही गर्न माग गरेका छन् ।

‘फुटपाथ मान्छे हिड्नको लागि मात्र प्रयोग हुनुपर्छ, त्यहाँ पसल राख्ने वा गाडी गुडाउने ठाउँ होइन । फुटपाथ मिच्नेलाई तत्काल कारवाही हुनुपर्छ’ चौधरीले भने । साथै उनले जेब्राक्रसिङ बन्ने तर, त्यसको प्रयोग सहिरुपमा नहुने अबस्थाको अन्त्य हुनुपर्ने माग गरे ।

यस्तै ट्याक्सी चालकले मनलाग्दी भाडा असुल्ने गरेको र त्यसलाई नियन्त्रणमा ल्याउन अनुगन निकायलाई सक्रिय बनाउनु पर्नेमा उनले जोड दिए ।

‘हामी आफै हिड्दा त ट्याक्सीहरु मिटरमा जानै चाहँदैनन् झन् सर्वसाधारणलाई कस्तो होला,’ चौधरीले भने ।

आजको बैठकमा अतिरिक्त प्रहरी महानिरिक्षक पुस्कर कार्कीले ट्याक्सी चालकहरुले तोकेभन्दा बढी भाडा लिए वा ट्राफिक नियम ५ पटकभन्दा बढी मिचेमा ६ महिनासम्मका लागि लाइसेन्स खारेज गर्ने नियम ल्याउन माग गरे ।

यस्तो छ विकास समितिको निर्णय

क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारीसाधनलाई कारबाही गर्नका लागि ठाउँ ठाउँमा चेकिङको व्यवस्था गर्न समितिले सम्बन्धीत निकायलाई निर्देशन दिएको छ । साथै, दुर्घटना न्यूनीकरणका लागि प्रस्ट देखिने संकेत बोर्ड ठाउँ ठाउँमा राख्न ट्राफिक प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

त्यसैगरी लामो दुरीका सवारीसाधनमा अनिर्वाय रुपमा २ वटा सवारीचालकको व्यस्था गर्न मन्त्रालय तथा प्रहरी कार्यलयलाई समितिले निर्देशन दिएको छ ।


Back_to_top