काठमाडौं । चीनमा तीव्र गतिमा कार बिक्री गर्दै आएको एलआइ अटोले १० लाख युनिट बिक्रीको लक्ष्य भेट्टाएको छ । चीनमा सफलताको बाटोमा लागेसँगै अब एलआइ अटोको नजर अन्तर्राष्ट्रिय बजारमा परेको हो ।
कम्पनीको उच्च तहका व्यक्तिहरूले अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न ढिला गर्न नहुने बताएका छन् । अन्तर्राष्ट्रिय बजार प्रवेशसँगै स्थानीय बजारको माग अनुसार डिजाइन र फिचरहरूको बारेमा थप अध्ययन तथा अनुसन्धान गर्न सहज हुने बताइएको छ ।
एलआइ अटोले चिनियाँ भाषालाई अंग्रेजीमा अनुवाद गरेजस्तो तरिकाले नयाँ गाडी लिएर अन्तर्राष्ट्रिय बजारमा प्रवेश नगर्ने जनाएको छ । उसले स्थानीय भाषा, त्यहाको आवश्यकता अनुसारको सेफ्टी फिचर तथा अन्य फिचरमा ध्यान दिएर अगाडि बढ्ने जनाएको छ ।
कम्पनीले यसअघि पनि २०२४ बाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने जनाएको थियो । तर, अहिलेसम्म उसले चीनबाट बाहिर निस्केको छैन । त्यति बेला मध्य पूर्वी एशिया र उत्तर अफ्रिकामा रहेका देशहरूमा जाने जनाएको थियो ।
एलआइ अटोले आफ्नो सबैभन्दा प्रिमियम मोडल एलआइ एल–९ लाई लिएर अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न लागेको बताएको छ । तर, यसको आधिकारिक पुष्टि भने भएको छैन । एलआइ अटोसँग इलेक्ट्रीकमा एल–९, एल–८ र एल–७ मोडल छन् । त्यसैगरी, कम्पनीसँग एल–६ सहित सबै एल–९ सम्मका मोडल एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरईभी) छन् । साथै, मेगा नामको इलेक्ट्रीक एमपीभी पनि कम्पनीले उत्पादन गर्दै आएको छ ।
प्रिमियम र लग्जरी न्यू इनर्जी भेहिकल उत्पादन गर्दै आएको एलआइ अटोका उत्पादन नेपाल ल्याउन पनि व्यवसायिक घरानाहरू प्रतिस्पर्धा गरिरहेका छन् । तर, कम्पनीले अहिलेसम्म राइट ह्याण्ड ड्राइभ मोडल बनाउने योजना अगाडि नसारेको कारण कसले ल्याउँछ भन्ने विषयमा चर्चा भएको छैन ।

