काठमाडौं । केही दिन अघि २ वटा फ्यूचरिस्टीक इलेक्ट्रीक क्रसओभर मोडल देखाएर चर्चामा आएको महिन्द्राको अर्को नयाँ मोडलको तस्बिर बाहिर आएको छ । कम्पनीले बनाउँदै गरेको ७ सिट क्षमताको नयाँ ईभीको तस्बिर लीक भएको हो ।
महिन्द्राले ल्याउन लागेको नयाँ ईभीको नाम एक्सईभी ७ई राखेर ट्रेडमार्क दर्ता गरेको छ । यो विद्युतीय एसयूभी महिन्द्राको फ्ल्यागसीप मोडल ‘एक्सयूभी ७००’मा आधारित मोडल हो । भर्खर सार्वजनिक भएको ‘एक्सईभी ९ई’को नन्कुप्पे भर्सनमा ७ई आउने अनुमान गर्न सकिन्छ । यी दुई एसयूभीमा पछाडिको डिजाइन र सिट रो नै मुख्य फरक हुनेछ ।
महिन्द्राले इलेक्ट्रीक भेहिकलको लागि एक्सईभी र बीई गरी दुईवटा सवब्राण्ड बनाएको छ । एक्सईभी ७ई को फ्रन्ट फेसिया र ड्यासबोर्ड लेआउट एक्सईभी ९ई कै जस्तो हुनेछ । पछाडि र साइड प्रोफाइल भने एक्सयूभी ७०० बाट लिएको छ । यसमा नयाँ डिजाइनको ह्वील तथा प्यानारोमिक सनरुफ समेत रहेको छ ।
महिन्द्राले गाडीको सेकेन्ड रोमा क्याप्टेन सिट, एक्सईभी ९ईमा जस्तै तीनवटा स्कृन लेआउट, नयाँ डिजाइनको इलुमीनेटेड लोगो सहितको स्टेरिङ ह्वील, १४०० वाटको १६ वटा स्पीकर, हर्मन कार्डनको अडियो सिस्टम, भिजन एक्स एचयूडी, पावर टेलगेट, एम्बीयन्ट लाइट र लेभल २ प्लस एडास सुइट जस्ता फिचर दिनेछ ।
एक्सईभी ७ई मोडल डिउल मोटर ले आउटमा आउने छ । यसमा स्नो तथा अफरोडिङ मोड दिइनेछ । यसको मोटरले ३५० हर्सपावर र ४५० न्यूटन मिटर टर्क दिने दावी कम्पनीको छ । यसमा दिइने ब्याट्री साइजको बारेमा आधिकारीक जानकारी बाहिर आएको छैन ।


