काठमाडौं । इन्जिनको आविष्कारसँगै मानव जीवनको यात्रा सहज भएको हो । ठूला र मस्कुलर इन्जिन भएका चार पाङ्ग्रे सवारी साधन विश्वका धनी र सम्भ्रान्त बर्गको रोजाइमा पर्दै आएको थियो ।
विस्तारै विश्वभर जलवायु परिवर्तनको असर देखिन थालेसँगै ठूला इन्जिनको विकल्प खोज्दै साना र बढी पावरफुल इन्जिन विकासमा कम्पनीहरुले समय र पैसा खर्चे । त्यसकै परिणाम स्वरुप टर्बो इन्जिनको तिब्र विकास भयो । सुरुमा डिजेल इन्जिनको पर्फर्मेन्स सुधार गर्न विकास भएको टर्बो इन्जिनपछि वातावरणको लागि पनि उपयुक्त बन्न पुग्यो । टर्बो इन्जिनको प्रयोगले पावरमा बढोत्तरी भयो, इन्धन खपत कम हुने कारण प्रदुषण कम गर्न सहयोग पुग्यो ।
आधुनिक जीवनशैलीसँगै इन्जिनको प्रयोग ब्यापक भयो । पृथ्वीको तापक्रम बढ्न थाल्यो, त्यसैले त अहिले न्यू इनर्जी भेहिकल उत्पादकहरु इन्जिनको प्रयोग घटाउन तल्लिन छन् । पृथ्बीको तापक्रम एक डिग्री घटाउने लक्ष्य पेरिस सम्झौंताले गरेको कारण हरेक देशले आफ्ना गाडी उत्पादकहरुलाई प्रदुषण कम गर्न र बढ्दो जलवायु परिवर्तनको असर कम गर्न भने ।
अहिले हाइब्रिड कार निर्माताहरु इन्जिनको प्रयोग गरेर गाडी बनाउँछन् । तर, उनिहरु इन्जिनले गाडी गुडाउने टेक्नोलोजीभन्दा बाहिर निस्केर इन्जिनलाई जेनेरेटर बनाउने बाटोमा अग्रसर भएका छन् । उनिहरुको यो योजनाले धेरै हदसम्म सफलता पनि पाउन थालेको छ ।
अहिले चीनमा हाइब्रिड कार उत्पादन गर्ने सबै कम्पनीले १.५ लिटर क्षमताको टर्बो इन्जिन प्रयोग गर्न थालेका छन् । उक्त इन्जिनले गाडी चलाउने छैन । गाडीमा दिइएको १७ देखि २२ किलोवाट आवर क्षमताको ब्याट्रीलाई आवश्यकता अनुसार चार्ज गर्न मात्रै इन्जिनको प्रयोग हुन्छ ।
अहिले बीवाइडीले डिएम-आई हाइब्रिड टेक्नोलोजीको प्रयोग गर्दै आएको छ । कम्पनीले प्रयोग गरेको उक्त हाइब्रिड टेक्नोलोजीसँग १.५ लिटर क्षमताको इन्जिन छ । उक्त इन्जिनले २.९ लिटर पेट्रोलले १०० किलोमिटर गाडी चलाउन पुग्ने इनर्जी उत्पादन गर्छ । त्यसैले कम्पनीले सिंगल चार्जमा २ हजार १०० किलोमिटर रेन्ज दिने दावी गर्दै आएको छ ।
अर्को चिनियाँ कम्पनी जिली ग्रुपले इएम-आई हाइब्रिड टेक्नोलोजीको प्रयोग थालेको छ । उसको हाइब्रिड टेक्नोलोजीले फ्यूल खर्च कम गरेर गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छ । उसको इएम-आई हाइब्रिड टेक्नोलोजीले १०० किलोमिटर यात्रा गर्न केबल २.६२ लिटर पेट्रोल खर्च गर्छ ।
त्यसैगरी चांगान, चेरी, डोङफेङ, सेरेस, एलआई, एनआइओ, अवतार जस्ता ब्राण्डले पनि हाइब्रिड कार उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । यीहरुले ल्याउने सबै कारमा इन्जिन हुन्छ, तर इन्जिनले गाडी गुडाउने छैन । जनेरेटरको काम गर्दा पनि प्रदुषण सून्य भने हुने होइन । कम हुने मात्रै हो ।


