काठमाडौं । सिजी मोटर्सले दायून ‘युएहु’ ह्याचव्याक नेपाल ल्याएर बिक्री सुरु गर्ने तयारी थाल्दा नै कम्पनीको उत्पादन बन्दको समाचारहरु बाहिर आए । चीनमा नै दायून ब्राण्ड समस्यामा परेको र उत्पादन बन्द भएको समाचारले नेपालमा पनि चर्चा पायो ।
केही दिन अगाडि मात्रै नेपाल प्रबेश गरेको ब्राण्ड बन्द भएको समाचारले आयातकर्तादेखि उपभोक्तासम्म अन्योलमा परे । यसले दायूनको सुरुवाती दिन सुखद हुन सकेन । सिजी मोटर्सले ३० लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू भएको घोषणा गरेपनि माइक्रो एसयूभी डिजाइनको कारले धेरैको ध्यान खिच्न सकेन ।
अहिले दायूनले सन् २०२५ को जनवरीबाट आफ्नो उत्पादन पुनः सुरु हुने र नेपाली उपभोक्ताले भोलिका दिनमा सबै किसिमका कम्पनीबाट पाउनु पर्ने सेवा र सुविधा पाउने ब्योहोराको पत्र नेपाल पठाएको सिजी मोटर्सले जनाएको छ । कम्पनीले उक्त चिठ्ठी मिडियाहरुमा पनि विज्ञप्ती बनाएर पठाएको छ । कम्पनीले लेखेको पत्र र सिजीको अनुरोधलाई उपभोक्ताले कसरी लिन्छन्, त्यो थाहापाउन अझै केही महिना लाग्नेछ ।
नेपाली सडक सुहाउँदो २०१ एमएम ग्राउन्ड क्लियरेन्स भएको युएहु मोडल फिचरका हिसावले औषत कार हो । अहिले ईभीको आयात बढ्दै जाँदा धेरै कम्पनीले अब्बल फिचरसहित कारहरु बजारमा ल्याउन थालेका छन् । मूल्यका हिसावले पनि नयाँ कारहरु प्रतिस्पर्धी देखिन्छन् ।
दायून युएहु मोडलमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
सिंगल चार्जमा ३०० किलोमिटर रेञ्ज दिने दावी गरिएको कारमा जिवीटी पोर्टसहितको डिसी चार्जर लाग्छ । सिजी नेपालमा ठूलो जिवीटी चार्जिङ नेटवर्क तयार पारेको कारण यसलाई पनि जिवीटी चार्जर लाग्ने बनाएर ल्याएको जनाएको छ ।
सिजीले दायून युएहुमा रहेको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ । यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी प्रदान गरेको भएपनि कम्पनीको अन्योलतामा उपभोक्ता खुल्न सकेका छैनन् । अब दायून ब्राण्डले जनवरीपछि बजारमा बाउन्स ब्याक गर्छ वा अर्कै बाटो समात्छ, त्यो थाहापाउन थप एक महिना कुर्न पर्ने हुन्छ ।

