सधैँका लागि बन्द भए नेपाल आएका डेढ दर्जन ईभी मोडल

काठमाडौं । तीव्र गतिमा विकास भइरहेको न्यू इनर्जी भेहिकल मार्केटमा उतरचढाव पनि त्यतिकै छ । कुनै समय एक वर्षमा एक दर्जन कार मोडल मुस्किलले आउने बजारमा सन् २०२४ मा मात्रै १६ ब्राण्डले नेपालमा आफ्नो उत्पादन बिक्री थाल्यो ।

विद्युतीय गाडीको स्वीकार्यता बढेसँगै चिनियाँ उत्पादकहरू आक्रमक रूपमा ईभी नेपाल पठाउन लागिपरेका छन् । साथै, बिक्रेताहरूको रोजाइ पनि जस्तो सुकै ब्राण्ड होस् गाडी ल्याउनु पर्छ भन्ने मान्यताबाट अगाडि बढेको देखिन्छ ।

महँगो टेक्नोलोजी भएको कारण विद्युतीय गाडीको खरिद मूल्य नै ६ हजार डलरदेखि ७० हजार डलरसम्म तिरेर नेपाल ल्याएको देखिन्छ । यस्तोमा सुरूमा केही युनिट आयात गर्ने र त्यसपछि व्यवसाय नै बन्द गर्ने पनि धेरै ब्राण्ड देखियो ।

अहिलेसम्म नेपाल आएका कति ब्राण्ड बन्द भए ?

नेपालमा विद्युतीय कार आयातको १४ वर्ष लामो इतिहास पाइन्छ । रेभा, ईटुओ जस्ता साना ईभी सुरूमा नेपाल आएको हो । रेभा पहिल्यै बन्द भयो । महिन्द्राको ईटुओ २०२० मा अन्तिम लट ३२ युनिट आयात भएको थियो, त्यसपछि सधैँका लागि बन्द भयो । महिन्द्राले २०१९ मा नेपाल ल्याएको ईभेरिटो इलेक्ट्रीक सेडान पनि सधैँका लागि बन्द भएको छ ।

चीनबाट ल्याइएका केही डब्बा गाडी जीएक्स ८, इलेक्ट्रा प्लस जस्ता मोडल सन् २०२० र २०२१ मा ४/४ युनिट आयात भएको थियो । त्यसपछि यी दुवै मोडल कहिल्यै नेपाल आएनन् । अझ भनौं यी ब्राण्डले अहिलेसम्म बजारमा गाडी नै लन्च गरेनन् ।

डेरी ब्राण्ड र दिगोले ल्याएको ई-८ कार बजारमा खुब तामझामका साथ बिक्री गरियो । तर, अहिले यी गाडीको आयात बन्द भयो । साथै, सर्भिस नपाएर उपभोक्ताको बिचल्ली भइरहेको छ ।

हाउजी ब्राण्ड र डीएफएसके ई-५०२ मोडल पनि बजारमा राम्रो व्यापर गर्न सकिरहेका छैनन् । सन् २०२३ मा ५१ युनिट आयात भएको डीएफएसके ई-५०२ मोडल २०२४ मा केबल २ युनिट आयात भएको छ । यसको मतलब यी दुवै मोडल बजारमा अब उपलब्ध हुने छैनन् ।

हुन्डाईको चर्चित सेडान आयोनिक सधैँका लागि बन्द भएको छ । नेपाली बजारमा आयोनिक सेडान २३ युनिट आयात भएको देखिन्छ । साथै, पहिलो जेनेरेशन कोनाको आयात पनि बन्द भएको छ । कम्पनीले चाँडै नयाँ जेनेरेशन कोना नेपालमा बिक्री सुरू गर्ने तयारी गरिरहेको जनाएको छ ।

नेपालमा ठूलो इलेक्ट्रीक एसयूभी भने आफ्नो पहिचान बनाएको बीवाइडी ई-६ र अल न्यू ई-६ पनि बन्द भएको छ । पछिल्लो पटक २०२३ मा आयात भएको अल न्यू ई-६ कुल २८३ युनिट नेपाली सडकमा गुडिरहेको छ । कम्पनीले उस्तै गाडी अहिले एम-६ नामबाट बजारमा बिक्री थालेको छ । यो भने ७ सिट क्षमताको एमपीभी हो ।

निसान लीफ पनि आयात बन्द भएको छ । किया सोल ईभी र निरो दुवै मोडल बन्द भइसकेको छ । नेपाली बजारको चर्चित इलेक्ट्री एसयूभी नेक्सन ईभी पनि २०२४ मा एक युनिट पनि आयात भएन । २०२५ को सुरूवातसँगै फेसलिफ्ट नेक्सन ईभी बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्यूजोको पार्टनर टेपे भ्यान र बीवाइडीको एम-३ भ्यानको पनि आयात बन्द भएको छ । यी दुवै मोडल अब बजारमा बिक्रीको लागि उपलब्ध छैनन् ।


Back_to_top