सवारीसाधनमा जीपीएस जडानः विश्व बैंकले सहयोग गरे दुई महिना पनि नलाग्ने

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा जीपीएस जडानको तयारी गरिरहेको छ । अहिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्रालयले विश्व बैंकको सहयोगमा सार्वजनिक सवारीसाधनमा जीपीएस जडान गर्ने तयारी गरेको हो । 

त्यसको तयारीका लागि मन्त्रालय र वल्र्ड बैंकसँग छलफल भइरहेको यातायात व्यवस्थापन विभागका प्रबक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

‘हामीले ड्राफ्ट तयार गरेर मन्त्रालयलाई बुझाइसकेका छौँ, मन्त्रालयले विश्व बैंकसँग वार्ताको क्रममा रहेको छ, लगानी कति, सुरुमा कति सवारीमा जीपीएस जडान गर्ने कुरा बैंकले स्वीकृत गरेपछिमात्र आउछ,’ उपाध्यायले भने । 

विभागले भने २०७६ सालको साउनदेखि जीपीएस जडानसहित सार्वजनिक सवारी सञ्चालन गर्ने गरी काम भइरहेको बताउँदैआएको छ ।

उपाध्यायकाअनुसार बैंकले जीपीएस जडानका लागि सकारात्मक विचार व्यक्त गरेको छ भने यसप्रति मन्त्रालय पनि सकारात्मक रहेको छ । 

बैंकले सहयोगको प्रस्ताव स्वीकृत गरेमा, जीपीएस जडान ढिलोमा २ महिनासम्ममा जाँचसहित सञ्चालनमा ल्याउन सकिने उनले बताए । 

एउटा जीपीएसको मूल्य १ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म गुणस्तरअनुसार पर्ने उनले जानकारी दिए । 


Back_to_top