होण्डाले ल्यायो २५० सीसीको अटोमेटीक मोटरसाइकल

काठमाडौं । धेरै मानिस मोटरसाइकलमा गियर चलाउन अल्छी मान्छन् र अटोमेटीक स्कुटर चलाउँछन् । यस्ता मानिसको मोटरसाइकल चढ्ने चाहना पुरा गर्न होण्डाले अटोमेटीक गियरबक्स दिएर २५० सीसीको रिबेल मोडल ल्याएको हो ।

अहिले जापानी बजारबाट बिक्री सुरु हुने अटोमेटीक रिबेल २५० मोटरसाइकल अन्तर्राष्ट्रिय बजारमा कहिलेबाट उपलब्ध हुन्छ एकिन जानकारी प्राप्त भएको छैन ।

होण्डाले यसमा ई-क्लच टेक्नोलोजी प्रयोग गरेको छ । जापानमा यसको मूल्य झण्डै नेपाली रुपैयाँ ७ लाख मूल्य तोकेर बिक्री सुरु गरेको हो । यसमा दिइएको ई-क्लचको सहायताले गियर चलाउनु पर्ने झन्झटबाट मुक्त बनाउने कम्पनीको दावी छ । यदि, कसैलाई म्यानुअल गियरबक्समा पनि रिबेल २५० चलाउने चाहना छ भने उसले म्यानुअल्ली पनि चलाउन सक्नेछ ।

होण्डाले म्यानुअल गियरबक्स भएको रिबेल २५० लाई जापानमा ६ लाख ३८ हजार यान छ भने ई-क्लच भेरियन्टको ६ लाख ९३ हजार यान छ । त्यसैले अटोमेटीकको मूल्य उत्कृष्ट रहेको टिप्पणी भइरहेको छ ।

नयाँ ई-क्लच टेक्नोलोजीको मुख्य फाइदा भनेको मोटरसाइकल स्टाट गर्दा, रोक्दा र गियर नै चेन्ज गर्दा पनि क्लच समाउनु पर्दैन । यसमा दिइएको इलेक्ट्रोनिक्स कन्ट्रोलको माध्यमबाट चाहिएको समयमा क्लच समाउने र छाड्ने काम आफैँ हुन्छ ।

होण्डाको यस टेक्नोलोजीलाई धेरैले प्रशंसा गरेका छन् । ई-क्लचकै कारण यसलाई सहरी ट्राफिकमा चलाउन सहज हुनेछ ।

कम्पनीले रिबेल २५० लाई २४९ सीसी क्षमताको वाटर कुल्ड, फोर भल्भ, सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध गराएको छ । उक्त इन्जिनले अधिकतम २६ पीएस र २२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।


Back_to_top