काठमाडौं । नेपालमा मोटरसाइकल बिक्री सुरू गर्ने पुरानो घराना मध्ये एक हो गोल्छा अर्गनाइजेशन । गोल्छा ग्रुप अन्तर्गत रहेको हंशराज हुलाश चन्द एण्ड कम्पनीले विभिन्न ४ ब्राण्डका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजदेखि पछिल्लो समय निकै चर्चामा रहेको ट्रायम्फ मोटरसाइकलसम्म गोल्छा ग्रुपले बिक्री गर्दै आएको छ । साथै, हस्कभर्ना र केटीएमका मोटरसाइकलको आधिकारिक वितरक पनि हंशराज हुलाशचन्द एण्ड कम्पनी नै हो ।
नेपाली सडकमा १५० सीसीदेखि २२० सीसीसम्मका मोटरसाइकलमा बजाजको पकड छ । पल्सर १५० सेग्मेन्टमा नै सर्वाधिक बिक्री हुने मोटरसाइकलको हो । कम मूल्य र पावरफुल तथा मोर्डन डिजाइनका पल्सर एनएस २०० र पल्सर २२० एफ पनि बजारमा निकै सफल मोडल हुन् ।
बजारमा प्रिमियम मोटरसाइकल खोज्ने युवाहरू बढ्ने थालेसँगै कम्पनीको फोकस पनि ४०० सीसी सेग्मेन्टमा देखिन्छ । हुलाश चन्द एण्ड कम्पनीसँग ४०० सीसी सेग्मेन्टमा ६ मोडलका मोटरसाइकल उपलब्ध छन् । कम्पनीले बिक्री गर्ने सबै मोटरसाइकलले आफ्नो सेग्मेन्टमा ‘लिड’ गरिरहेका छन् ।
कम्पनीसँग ट्रायम्फका दुई मोडल स्क्रयाम्बलर ४०० एक्स र स्पीड ४०० मोडल छ । त्यस्तै, एड्भेन्चर सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरको छुट्टै क्रेज देख्न सकिन्छ । केटीएमकै ३९० ड्युकमा भने धेरैको चासो देखिदैन ।
बजाज पल्सरमा पनि पहिलोपटक आएको ‘पल्सर एनएस ४०० जेड’ पनि बिक्री हुँदै आएको छ । कम मूल्यमा प्रिमियम मोटरसाइकलमा हुने फिचरहरूले भरिपूर्ण पल्सर एनएस ४०० लाई भ्यालूफर मनी मोडलका रूपमा लिइन्छ ।
उसोत पल्सर एनएस सिरिजको नेपालमा राम्रै फ्यानबेस भएका कारण यसले विस्तारै राम्रो बजार लिन सक्ने देखिन्छ । साथै, एड्भेन्चर टुरर सेग्मेन्टमा बजाज डोमिनार ४०० नेपाली बजारमा लामो समयदेखि बिक्री हुँदै आएको मोटरसाइकल हो । बजाज डोमिनार ४०० को राइडिङ ग्रुपका कारण राम्रै चर्चा हुने मोटरसाइकलमा पर्छ ।
पल्सर एनएस ४०० जेड

एनएस ४०० जेडमा ३७३ सीसीको सिगंल-सिलिण्डर, लिक्विड-कुल्ड इन्जिन छ । जसले ३९.४ बीएचपी तथा ३५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६-स्पीड गियरबक्स छ ।
स्लिपर असिस्ट क्लच सुविधा भएको मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड-बाइ-वायर प्रविधि पनि समावेश गरिएको छ ।
एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा एड्भान्स्ड पल्सर हो । यसमा रोड, रेन, स्पोर्ट, र अफ-रोड गरी चारवटा राइडिङ मोडहरू छन् । साथै, स्वीच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल-च्यानल एबीएस रहेको छ । जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ ।
यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रीन रहेको छ । जसमा ब्लुटूथ कनेक्सनको सुविधा उपलब्ध छ । यसले टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्छ ।
मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एन एस् ४०० जेडमा चिजल्ड फ्यलु ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस, आरामदायी स्प्लीट सिट सेटअप, र स्टाइलिस १७-इन्च अलोय ह्वील रहेका छन्। यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ । सीटको उचाइ ८०७ मिलिमिटर रहेको छ ।
नेपाली बजारमा पल्सर एनएस ४०० जेडको मूल्य ५ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स

ट्रायम्फ स्क्रयाम्बलर ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्विड कुल्ड, फोर भल्भ, सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
यसमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् । साथै, ड्युल च्यानल एबीएस, यूएसडी र मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, अलोय ह्वील जस्ता फिचर यो मोटरसाइकलमा छन् ।
कम्पनीले स्क्रयाम्बल ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ र स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ तोकेको छ ।
केटीएम ३९० एड्भेन्चर

३९० एड्भेन्चर डकार र्याली विजेता केटीएम ४५० र्यालीबाट प्रेरित छ । ३९० एड्भेन्चरमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएमको डब्लूपीको लङ ट्राभल सस्पेन्सन रहेको छ । यसमा अनरोड तथा अफरोड दुवैमा सुहाउँदो मेटजेलरको नोबी टायर रहेको छ ।
त्यस्तै, यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ ह्वीलबेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट छ ।
यसमा सुपर बाइकहरूमा हुने फिचरहरू जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्विकसिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टिभिटी र फुल-कलर टीएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ ।
यस मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआइ इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता इलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले केटीएम ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।


