नेपालमा किन जम्न सकेन टेस्ला ? यस्तो छ ५ वर्षको आयात

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रीक कार ब्राण्ड टेस्लाका उत्पादन सन् २०२० देखि नै नेपाली बजारमा प्रवेश गरेको थियो । नेपालमा टेस्लाले ५ वर्ष पूरा गर्दा पनि १०० युनिट कार ल्याउन सकेको छैन ।

नेपालमा आधिकारिक बिक्रेतामा सधैं लफडामा पर्दै आएको टेस्लाले विगत ५ वर्षको अवधिमा केबल ६१ युनिट मात्रै कार ल्याउन सकेको छ । अमेरिकी लग्जरी ब्राण्डको रूपमा परिचित टेस्ला ब्राण्ड हरेक तह र तप्काका मानिसलाई थाहा भए पनि यसको प्रयोगकर्ता भने सीमित छन् ।

सुरूमै टेस्ला नेपाल आएदेखि नै एजेन्सी विवाद अदालत पुग्यो । विस्तारै अदालतबाटै बाटो खुल्ला गर्दै नियमित आयात भएको टेस्ला सन् २०२० मा केबल ५ युनिट आयात भयो । सुरूमै मोडल थ्री र मोडल वाई नेपाल आएको थियो । पछि एक दुई युनिट मोडल एक्स पनि नेपाल आएको थियो ।

सन् २०२१ मा १४ युनिट टेस्लाका कार आयात भएका थिए । त्यसपछिको वर्ष १८ युनिट टेस्लाका कार आयात भए । सन् २०२३ मा घटेर केबल १३ युनिट आयात भयो ।

सन् २०२४ पनि टेस्लाको लागि बिसर्न लायक वर्ष बन्यो । मिडियामा सस्तोमा अर्को एजेन्सीले ल्याउने हल्ला चल्यो । केबल ९ युनिट टेस्लाका कार एक वर्षमा आयात भए । सन् २०२५ को साढे दुई महिनामा केबल २ युनिट कार नेपाल आएको छ ।

बिक्रेताले आक्रमक रणनीति बनाएर टेस्लाका कार बिक्री गर्न नसक्नु, ८० लाखभन्दा महँगा ईभीमा उपभोक्ताको चासो नहुनु र बिक्रीपछिको सेवा बारे उपभोक्ता अन्योलमा हुँदा टेस्लाका कार नेपाली बजारमा राम्रो संख्यामा बिक्री हुन नसकेका हुन् ।


Back_to_top