‘टक अफ दी टाउन’ बनेको बीवाइडको ठूलो चार्जर, समस्या देख्ने पनि बढ्दै

काठमाडौं । अहिले विश्व अटोमोबाइलमा न्यू इनर्जी भेहिकलको चार्जिङ अवधि सुधार गर्ने विषय सर्वाधिक चासोमा पर्छ । त्यस्तोमा विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले १००० किलोवाट क्षमताको डीसी चार्जर बनाएर ‘टक अफ दी टाउन’ बनिरहेको छ ।

बीवाइडीले ल्याएको १००० किलोवाटको डीसी चार्जरले कारलाई ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर यात्रा गर्न पुग्ने चार्ज हुन्छ । जुन पेट्रोल भर्न लाग्ने बराबरकै समय हो । त्यसैले पनि विश्वभरका अटोपण्डितहरू उक्त चार्जरको विषयमा आफ्नो धारणा राख्न व्यस्त छन् ।

धेरैलाई छिटो चार्ज गर्ने डीसी चार्जरको आवश्यकता किन पर्यो होला भन्ने जिज्ञासा हुनसक्छ । कम्पनीका अनुसार चार्जिङमा लाग्ने लामो समयको झन्झटबाट मुक्ति पाउन र लामो यात्रा पनि सहजै रेन्ज एन्जाइटी बिना गर्न सकियोस् भनेर हो । तीव्र चार्जिङ र ब्याट्री स्वापिङ टेक्नोलोजीको विकास कम्पनीहरूले उपभोक्ताको माग अनुसार नै गरेका हुन् ।

बीवाइडीले बनाएको १००० किलोवाटको चार्जर यसअघि हुन्डाईले बनाएको ३५० किलोवाटको चार्जरभन्दा तीन गुणा शक्तिशाली छ । चीनमा तीव्र चार्जिङमा जिकर र एलआई अटोले पनि काम गरिरहेका छन् । उनिहरूको चार्जर पनि बीवाइडीको छेउछाउ छैन ।

चिनियाँ निर्मातालाई आफ्नै चार्जिङ नेटवर्क बनाउनु पर्ने दबाब थियो । चीनमा रहेका एनआईओ, टेस्ला, एलआई अटो, जिकर जस्ता ब्राण्डसँग आफ्नै चार्जिङ नेटवर्क छ । तर, बीवाइडीका गाडी अन्य कम्पनीका चार्जरमा निर्भर थिए । त्यसैले ऊ आफैँ शक्तिशाली चार्जरको नेटवर्क बनाउन चाहन्थ्यो ।

ठूलो क्षमताको चार्जर बनाउने योजनालाई तीव्रता दिएको बीवाइडीले विद्युत प्रसारण लाइनमा नै समस्या ल्याउन सक्ने चुनौती धेरैले औंल्याएका छन् । एउटै चार्जरले १ मेगावाट विद्युत खपत गर्ने भएको कारण प्रसारण लाइन सुधारमै ठूलो लगानी गर्नु पर्ने धेरैको भनाइ छ ।

यही समस्यालाई सम्बोधन गर्न बीवाइडीले प्रत्येक चार्जिङ स्टेशनमा ऊर्जा भण्डारण युनिट बनाउने जनाएका छ । तर, त्यसको लागि ठूलो हुने बताइन्छ ।

यस्ता ठूला चार्जरको बारेमा बोल्दा, लेख्दा वा विश्लेषण गर्दा नेपाल जस्ता देशमा के हुनसक्छ भन्ने कौतुहलता हुन सक्छ । अहिलेकै प्रसारण लाइन अनुसार यस्ता चार्जर नेपालमा लाग्नै सक्दैनन् । तर, कुनै दिन लगाउन सकिएको खण्डमा ईभीको प्रयोगमा भइरहेको व्यापकतामा थप बल पुग्नेछ ।


Back_to_top