एथरको नयाँ स्कुटर रिज्टा नेपाल आउँदै

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको फ्यामिली स्कुटर रिज्टा नेपाल आउने भएको छ । कम्पनीले आफ्नो अपडेट भएको ४५० सिरिज सार्वजनिक गर्ने कार्यक्रममा रिज्टा नेपाल ल्याउने घोषणा गरेको हो ।

कम्पनीले अब आउने नयाँ स्कुटर रिज्टा फ्यामिली स्कुटर हुने बताएको हो । भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो ।

यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । एथर रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ ।

यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४-लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।

कम्पनीले नयाँ वर्ष २०८२ को आसपासमा यो स्कुटर सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । कम्पनीले २०२५ एथर ४५० सिरिजमा ४० हजार रुपैयाँसम्मले मूल्य घटाएको छ ।

बैद्य इनर्जीले ३ लाख ९९ हजार रुपैयाँ तोकेर एथर ४५० को टप भेरियन्ट बिक्री सुरू गरेको हो । यसका आधारमा रिज्टा ३ लाख देखि ३ लाख २५ हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top