काठमाडौं । नेपालको लागि सुजुकी दुईपाङ्ग्रे सवारीसाधनको आधिकारीक वितरक भीजी अटोमोबाइल्स प्रालिले जिक्सर-एसएफ मोटरसाइकल बिक्री गर्दैआएको छ । यस्तै, यामाहा कम्पनीको लागि नेपालको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड-एस एफआई भी२.० को बिक्री-वितरण गर्दैआएको छ । हामीले मूल्य, विशेषता तथा बनावटका समानता भेटिने यी दुई मोडलको चर्चा गरेका छौँ ।
इन्जिन
यी दुबै मोटरसाइकलमा समान सिङ्गल सिलिन्डर फोर-स्ट्रोक टु-भल्भ एसओएसी इन्जिन लगाइएको छ । यामाहा–एफजेड एसएफआईमा उपलब्ध १४९ सीसीको उक्त इन्जिनले ८ हजार आरपीएममा १३.२ पीएस पावरकासाथै ६ हजार आरपीएममा १२.८ एनएम-टर्क उत्पादन गर्छ ।
सुजुकी जिक्सरमा उपलब्ध १५५ सीसी क्षमताको उक्त इन्जिनले ८ हजार आरपीएममा १४.८ पीएस पावरकासाथै ६ हजार आरपीएममा १४ एनएम–टर्क उत्पादन गर्छ । दुबैमा फाइभ-स्पीड म्यानूअल ट्रान्समिसन लगाइएको छ । दुबै मोटरसाइकलको फ्रन्टमा डिस्क-ब्रेक लगाइएको छ भने रियरमा ड्रम-ब्रेक लगाइएको छ । यी दुबै बाइकमा डबल डिस्क भर्सन समेत नेपाली बजारमा उपलब्ध रहेको छ ।
माइलेज
सुजुकी जिक्सरले प्रतिलिटर ५० किलोमिटर माइलेज प्रदान गर्छ भने टपस्पिड क्षमता ११५ किलोमिटर प्रतिघन्टा रहेको छ । यामाहा–एफजेडएस एफआईलेसमेत प्रतिलिटर ५० किलोमिटर माइलेज प्रदान गर्छ । यसको टपस्पीड क्षमता १०७ किलोमिटर प्रतिघन्टा रहेको छ ।
सन्पेन्सन/टायर्स
जिक्सरमा सिङ्गल डाउन ट्यूव-चेसिस लगाइएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सनकासाथै रियरमा स्वीङ्ग-आर्म, मोनोशक सस्पेन्सन लगाइएको छ । यामाहा-एफजेड एसएफआईमा डायमन्ड चेसिस लगाइएको छ भने रियरमा मनोशक र फ्रन्टमा स्वीङ्ग-आर्म लगाइएको छ । दुबै मोटरसाइकलको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील दिइएको छ ।
डायमेन्सन
सुजुकी जिक्सरको लम्बाई २०५० एमएम, चौडाई ७८५ एमएम, १०३० एमएम उचाई रहेको छ । यामाहा-एफजेड एसएफआईको लम्बाई २०७३ एमएम, चौडाई ७७० एमएम र उचाई १०५० रहेको छ । दुबैमा समान १३३० एमएमको ह्वीलवेश, १६० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । सुजुकी जिक्सरको सिट-हाइट ७ सय ८० एमएम रहेको छ भने यामाहा-एफजेड एसएफआईको सिट-हाइट ७९० एमएम रहेको छ । सुजुकी जिक्सरको तौल १३५ किलोग्राम रहेको छ भने यामाहा-एफजेड एसएफआईको तौल १३२ किलोग्राम रहेको छ ।
विशेषता
दुबै मोटरसाइकलमा बडी-ग्राफिक्स, पास-स्वीच, डिजिटल स्पीडोमिटर, डिजिटल ट्रीपमिटर, डिजिटल फ्यूल इन्डीकेटर, सेटअप सिट, प्यासेन्जर फूटरेस्टलगायतका विशेषता दिइएको छ ।
मूल्य
नेपाली बजारमा यामाहा–एफजेड एस एफआईको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । सुजुकी जिक्सरको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ ।
निस्कर्ष
समग्रमा समान बिशेषत भएता पनि नेपाली बजारमा सुजुकी जिक्सर भन्दा यामाहा एफजेड २.० निकै सफल रहेको छ । ग्राहकले आफ्नो आवश्कता र रोजाइ अनुसारको बाइक खरिद गर्न सक्नेछन् । बाइक खरिद गर्दा खरिद पछिको सेवा, पार्टस, माइलेज, र चालक मैत्री छ छैन जस्ता बुझ्न जरुरी हुन्छ ।

