काठमाडौं । नयाँ वर्ष २०८२ लागेसँगै नयाँ मोटरसाइकल ल्याउने तयारी तिब्र भएको छ । वर्षको पहिलो मोडल बजाजले पल्सर एन १६० को अपडेटेड भर्सन सार्वजनिक गरेको थियो ।
बजाजले केही दिन भित्र पल्सर एन सिरिजकै सबैभन्दा सानो मोटरसाइकल पल्सर एन १२५ सार्वजनिक गर्ने तयारी गरेकोे छ । कम्पनीका केही शोरुमहरुले पल्सर एन १२५ को बुकिङ लिन सुरू गरिसकेका छन् ।
त्यस्तै बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतक नेपाली बजारमा सार्वजनिक गर्दैछ । कम्पनीले नक्सालमा नयाँ शोरुम निर्माणको काम धमाधम गरिरहेको छ ।
त्यसै, टीभीएसले नयाँ स्कुटर जुपीटर पनि सार्वजनिक गर्दैछ । टीभीएसले जुपिटर ११० को परिक्षण सकिसकेको छ । अबको केही दिनमै जुपीटर सार्वजनिक गर्ने भएको हो ।
बजाज पल्सर एन १२५

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले पल्सर एन १२५ सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीका केही डिलरहरुमा बुकिङ लिन सुरू गरिसकेको छ । २ लाख ९७ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गर्ने तयारी थालेको हो ।
पल्सर एन सिरिजको सबैभन्दा सानो मोटरसाइकल एन १२५ मा १२४.५९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
यस मोटरसाइकलको अगाडि कभर सहितको आरएसयू टेलीस्कोपीक फर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ । साथै, एन १२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।
बजाजले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ । यसको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।
पल्सर एन १२५ मा एग्रेसीभ डिजाइन, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट डिजाइन, स्ट्यान्ड आउट इलेमेन्ट्स र स्प्लीट सिट डिजाइनमा छ । एलइडी लाइट, जेड आकारको एलईडी डीआरएल, एलइडी टेल लाइट, टर्न इन्डिकेटरमा हेलोजन बल्ब लाइट पाउन सकिन्छ ।
चालकको सहजताको लागि मोटरसाइकलमा यूएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी स्क्रीन दिइएको छ । उक्त स्क्रीनमा ब्लूटुथ कनेक्टिभिटी डिटेल्स, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सूचनाहरु हेर्न सकिन्छ ।
टीभीएस जुपिटर ११०

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ जुपिटर सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले नयाँ जुपिटर ११० परीक्षण सकिसकेको छ । अबको केही दिनमै यसको बिक्री सुरु हुने कम्पनी स्रोतले बतायो ।
नयाँ जुपीटर पुरानो मोडलभन्दा निकै आकर्षक डिजाइनमा तयार भएको स्कुटर हो । निकै सिल्क डिजाइनमा रहेको जुपीटरको फ्रन्ट कनेक्टेड एलइडी डिआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ ।
टीभीएसले यसमा पहिलो पटक ‘फलो मी’ एलइडी डिस्प्ले दिएको छ । जुन स्कुटर बन्द भएको केही सेकेन्डसम्म बलेर आफै बन्द हुन्छ ।
जुपीटरमा कनेक्टेड फिचर सहितको फुल्ली डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध रहेको छ । यसमा भोइस असिस्ट फिचर समेत पाउन सकिन्छ । कम्पनीले यसको इन्धन भर्नका लागि फ्रन्टमा फ्यूल क्याप दिएको छ । यसमा दुईवटा हाफ हेलमेट राख्न सकिने बुट स्पेस छ ।
नयाँ जुपीटरमा ११३ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ इन्जिन उपलब्ध छ । यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ ।
बजाज चेतक इलेक्ट्रीक स्कुटर

बजाजले पल्सर एन १२५ पछि चेतक इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनकि गर्नेछ । नक्सालमा चेकतको लागि डेडिकेटेड शोरुम निर्माणको काम अन्तिम चरणमा पुगिसकेको कम्पनीले बताएको छ ।
बजाजले भारतमा पछिल्लो पटक सार्वजनिक गरेको चेतक स्कुटर ३५०१, ३५०२ स्कुटर नेपाली बजारमा ल्याउने अनुमान गरिएको छ । यो स्कुटरको भारतीय बजारमा सुरुवाती मूल्य १ लाख २० हजार भारतीय रुपैयाँ रहेको छ ।
नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ । कम्पनीले फ्लोरबोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि भएको छ । यसको रेन्ज १५३ किलोमिटर पुगेको कम्पनीको दावी छ ।
यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।


