ईभीमा बढेन कर, के भन्छन् व्यवसायी

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी)मा लाग्ने सबै किसिमका कर यथावत राखेसँगै व्यवासायीहरू निकै उत्साहित भएका छन् ।

बजेट अघि अटोमोबाइल बजारमा ईभीमा कर बढ्ने व्यापक हल्ला फैलिएको थियो । तर, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हल्लाको पछिलाग्नेलाई चक्मा दिँदै ईभीको करका दर थयावत राखेका हुन् ।

यसले विद्युतीय साधनको कारोबारमा थप उत्साह प्रदान गरेको देखिन्छ ।

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफेक्चर्स एशोसिएसन (नाइमा) का अध्यक्ष ऋतुसिंह वैद्यले नयाँ बजेटले ईभीमा यथावत राखेकोमा स्वागत गरिन् । उनले भनिन्, ‘ईभीमा कर नबढ्नु स्वागत योग्य छ । तर, हाइब्रिड लगायतका साधनको विषयमा सरकार सकारात्मक हुन नसक्नु दुःखद छ ।’

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ बजेट सन्तुलित रहेको बताउँछन् । चार्जिङ मेसिन बनाउन चाहने उद्योगको लागि राम्रो कुरा भएको छ । ईभीको कर नचलाएर सरकार स्थिर छ भन्ने संदेश दिएको छ । यसलाई हामी सकारात्मक मान्छौं ।’

विद्युतीय साधनको सबैभन्दा ठूलो प्लेयर बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘कर स्थिर राख्नु निकै राम्रो कुरा हो । यसले व्यवसायीको कन्फिडेन्ट बढाएको छ । चार्जिङ पूर्वाधार लगायतका कुरा विस्तारमा निजी क्षेत्र थप लगानी गर्न अग्रसर हुने देखिन्छ ।’

चार्जर एसम्बल उद्योगलाई ५ वर्ष आयकरमा छुट र आवश्यक कच्चा पदार्थ ल्याउँदा १ प्रतिशत मात्रै भन्सार लाग्ने भएसँगै यसमा सम्भावना देखिएको श्रेष्ठले बताइन् । उनले आफ्नो माउ कम्पनीसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिइन् ।

नेपालमै गाडी एसेम्बल गर्दै आएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बजेट स्वागत योग्य नै रहेको बताउँछन् । ‘तर, एसेम्बल उद्योगलाई थप बलियो बनाउन र नेपालमै थप भ्यालु एड गर्ने थप सुविधा चाहिन्थ्यो । त्यसमा बजेटले सहयोग गरेन,’ उनले भने ।

नाडाका महासचिव सुरेशकुमार उप्रेतीले ईभीमा कर वृद्धि नहुनु, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल निर्माणको घोषणा हुनु लगायतका विषय नाडाको माग सम्बोधन भएको बताए ।

मोटरसाइकल उत्पादनमा काम गर्दै आएका अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल भन्छन्, ‘पहिलेकै व्यवस्थाले निरन्तरता पाउनु निकै सकारात्मक छ ।’


Back_to_top