काठमाडौं । नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति भने सुस्त छ ।
पूर्वतयारी नगरी सुरू गरिएका काम थाल्नु, ठेकेदारको लापारबाही, रुख कटानमा ढिलाइ, मुआब्जा विवाद, स्थानीयको अवरोध, निर्माण सामग्रीको अभाव, बजेट अभाव लगायत कारण राष्ट्रिय गौरवका सडकले अपेक्षित गति लिन नसकेका हुन् ।
केही सडकलाई राष्ट्रिय गौरव नामकरण गरिए पनि प्रगति हेर्दा राष्ट्रिय बेइजत गरेको देखिन्छ । निर्माण थालिएको २ दशससम्म पनि पूरा हुन सकेका छैनन् ।
कुल २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये ७ वटा सडक आयोजना रहेका छन् । ती मध्ये कुनै पनि सडक आयोजनाको प्रगति सन्तोषजनक रहेको छैन । यस्तो छ राष्ट्रिय गौरवका सडक आयोजनाको पछिल्लो प्रगति अवस्था
काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) : बजेटका आधार फास्ट ट्रयाक देशकै सबैभन्दा ठूलो निर्माणाधीन आयोजना हो । आयोजनाको सुरूआती लागत १ खर्ब ७५ अर्ब रुपैयाँ भनिए पनि हाल बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ७५ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) गौरवकुमार केसीका अनुसार हालसम्म फास्ट ट्रयाकको भौतिक प्रगति ३९.३४ प्रतिशत र वित्तीय प्रगति ४०.६ प्रतिशत पुगेको छ । निर्माणाधीन सुरूङ र पुलको काम सम्पन्न भएपछि भौतिक प्रगति ह्वात्तै बढ्ने उनको भनाइ छ ।

कुल ७०.९७७ किलोमिटर लम्बाइको यस सडकलाई १३ प्याकेजमा विभाजन गरी निर्माणको काम भइरहेको छ । तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० कार्यान्वयनका चरणमा छन् ।
७०.९७७ किमी मध्ये ६४.४७ किमीको ठेक्का लागिसकेको छ भने ६.५ किमीको मात्र ठेक्का लाग्न बाँकी छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुंमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको सुरू बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया सुरू हुन बाँकी रहेको छ ।
फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरूङ निर्माण हुने छन् । जसमा हालसम्म लेनडाँडाको १६२३ मिटर र धेद्रेको १६९१ मिटरको सुरूङ ब्रेक थ्रु भइसकेको छ । त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरूङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरूङको ९१.०३ मिटर खनिएको छ । १ हजार मिटर लामो देवीचौर र ३९० मिटर लामो सिसौटार सुरूङको पोर्टल तयारी कार्य भइरहेको छ । ५८३ मिटरको मौरीभिर सुरूङको खरिद सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको सेनाले जनाएको छ ।
फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । तीमध्ये ८५ पुलको ठेक्का लागिसकेको छ भने खोकना खण्डका ४ वटा पुलको ठेक्का लाग्न बाँकी छ । निर्माणधीन पुलहरूको फाउण्डेसन, सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको छ । निर्माणाधीन मध्ये हालसम्म ५ वटा पुल बनिसकेका छन् भने चालु आव भित्र २० वटा सम्पन्न हुने सेनाले जनाएको छ । फास्ट ट्रयाकमा ८१ मिटरसम्म अग्लो पुल निर्माण भइरहेको छ ।
आयोजनाका लागि कुल १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण गनुपर्नेछ । जसमा व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ । १६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन बाँकी छ ।

त्यस्तै, आयोजना अन्तर्गत हालसम्म ४४ हजार ४२० रुखहरू कटान भएको छ । कटान भएका रुखको बदलामा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको सूचना अधिकारी केसीले जानकारी दिए ।
२०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेको यो सडकको अन्तिम पटक थपिएको म्याद २०८३ चैतसम्म छ ।
मध्यपहाडी राजमार्ग : निर्माण सुरू भएको १८ वर्षमा मध्य पहाडी राजमार्गको ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६४/६५ मा मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्ने लक्ष्यका साथ निर्माण थालिएको यस सडकको प्रगति पनि निकै सुस्त रहेको हो ।
१ हजार ८७९ किलोमिटर लामो यस सडकको हालसम्म १ हजार १६.०७ किमी सडक निर्माणको काम भइरहेको छ । जसमध्ये हालसम्म १ हजार ४७८.७ किमी सडक मात्र कालोपत्र भएको छ ।
त्यस्तै, यस राजमार्गमा १३७ वटा पुलमध्ये अहिलेसम्म १०७ वटा पुल निर्माण सम्पन्न भएका छन् । आयोजनको केही खण्डमा अझै ठेक्का लाग्न सकेको छैन । अहिले ९ खण्डमा १३७ किमी सडक र १६ वटा पुलको ठेक्का लगाउन बाँकी छ । गोरखा, नुवाकोट तथा लमजुङ जिल्लामा रेखाङ्कन लगायत समस्या परेको छ । मुआब्जा तथा क्षतिपूर्ति कार्यमा विवाद छ भने सडक सीमा यकिन हुनसकेको छैन ।
आयोजनाको सुरूवाती अनुमानित लागत ३३ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा हाल बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ७० अर्ब ८८ करोड रुपैयाँ खर्च भइसकेको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार २०८४/८५ सम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यो सडकले पूर्वको पाँचथरको चिवाभन्ज्याङबाट पश्चिमको बैतडीस्थित झुलाघाटसम्म जोड्ने छ ।
हुलाकी लोकमार्ग : तराई–मधेश हुलाकी लोकमार्ग आयोजना आव २०६६/६७ देखि सुरू भएको हो । आव २०८३/८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको सो आयोजनाको सुरूआती लागत ४७ अर्ब २४ करोड रहेकामा हाल संशोधित लागत १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ बराबर पुगेको छ ।
१ हजार ८५७ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा हालसम्म १२९१ किमी सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै, २५० वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म १४२ पुल निर्माण सम्पन्न भएको छ ।
हालसम्म हुलाकी सडकको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति भने ६४ प्रतिशत बराबर छ । यो सडक आयोजनाको पनि विभिन्न ठाउँमा ठेक्का लागन बाँकी छ । निकुञ्जहरूमा सडक तथा पुल निर्माणमा समस्या छ । दुम्कीबास–त्रिवेणी खण्डमा विवाद रहेको छ ।
मदन भण्डारी राजमार्ग : झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपालसम्म जोड्ने यो सडक १३९० किमी लामो छ । यस सडकले ६ प्रदेश (मधेश बाहेक)का १९ जिल्लालाई जोड्छ ।
हालसम्म यो आयोजनाको झण्डै आधा काम सम्पन्न भएको छ । हालसम्म ३३९ किमी सडक कालोपत्र भइसकेको छ । त्यस्तै, निर्माण गर्नुपर्ने १८५ पुलमध्ये १३३ पुल निर्माण सम्पन्न भइसकेको छ ।
आव २०७५/७६ देखि निर्माण थालिएको यो सडक पछिल्लो पटक थपिएको म्याद अनुसार २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य छ । यसको संशोधित अनुमानित लागत ७५ अर्ब रुपैयाँ छ भने हालसम्म ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

कर्णाली करिडोर : कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म २६९ किमीलाई दुई खण्डमा विभाजन गरी सडक निर्माण भइरहेको छ ।
दक्षिण खण्ड (खुलालु-सलीसल्ला) १२३ किमी र उत्तर खण्ड (सिमिकोट-हिल्सा १४६ किमी) रहेको छ । दक्षिण खण्डको १२३ किमी नै ट्रयाक खुलिसकेको छ ।
कर्णाली कोरिडोर दक्षिण खण्ड (खुलालु–सल्लीसल्ला) सडक योजना प्रमुख तुलाराम शर्माले कालिकोटको खुलालुदेखि हुम्लाको सलीसलासम्मको १२३ किमी सडकै ट्रयाक खुलिसकेको बताए । उनले यस खण्डको ३० किमी सडक ग्राभेल र १ किमी ढलान भइसकेको जानकारी दिए । साथै, कल्भर्ट निर्माण, साँघुरा ठाउँमा फराकिलो बनाउने काम भइरहेको उनको भनाइ छ ।
उनले ५० किमी सडकको कालोपत्र गर्ने प्रक्रिया समेत अघि बढाइएको जानकारी दिए । उनका अनुसार ५० किमी सडक कालोपत्र गर्न स्रोत सुनिश्चित भई दुई खण्डमा ठेक्का आह्वान गरिएको छ । तिलुचौर–कवाडी २३.७ किमी र कवाडी–तुम्चा २७.३ किमीका लागि छुट्टाछुट्टै खण्डका ठेक्का लगाइ कालोपत्र गरिने उनले बताए । जेठ भित्रै ठेक्का लगाई आगामी आवदेखि कालोपत्रको काम सुरू हसने उनले बताए ।
त्यस्तै, करिडोरको उत्तर खण्ड (सलीसल्ला-सिमिकोट-हिल्सा) १४६ किमी सडकको पनि ट्रयाक खोल्ने काम लगभग सकिएको छ । यसखण्डको करिब ८०० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । उक्त क्षेत्रमा जग्गा विवादका कारण स्थानीले अवरोध गरेका छन् ।
यस खण्डको एलबम, धारापरी क्षेत्रको २५ किमी सडक ग्राभेल भइरहेको छ भने सलीसल्ला-हिल्सा खण्डमा २ वटा पक्की पुल बनिसकेको छ भने ३ वटा निर्माणाधीन अवस्थामा रहको छ ।
कर्णाली करिडोर पनि नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । कर्णाली करिडोरमा हालसम्म ६ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ ।
उत्तर-दक्षिण कोशी करिडर लोकमार्ग : यस आयोजना आव २०६५/६६ मा सुरू भएको हो । आव २०८५/८६ सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको सुरू लागत ११ अर्ब ९३ करोड रुपैयाँ बराबर थियो । हाल संशोधित लागत १६ अर्ब २० करोड रुपैयाँ बराबर छ ।

यस १६२ किलोमिटर लामो यो सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । हालसम्म ८९ किमी सडक ग्राभेल गरिएको छ भने ५ किमी सडक कालोपत्र भएको छ । त्यस्तै, २३ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ पुल सम्पन्न भएका छन् । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको छ ।
उत्तर-दक्षिण कालीगण्डकी करिडर लोकमार्ग आयोजनाको पहिलो खण्ड (गैँडाकोट-राम्दी-मालढुङ्गा सडक) आव २०६६/६७ मा सुरू भएको हो । आव २०८३/८४ सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरू लागत २० अर्ब रुपैयाँ बराबर रहेकामा संशोधित लागत २५ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
कुल ४४७ किलोमिटर सडकमध्ये गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा २४५ किमी पर्छ । सोमध्ये हालसम्म १९१ किलोमिटर कालोपत्र र ३५ वटा पुल निर्माण सम्पन्न भएको छ । यसखण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
त्यस्तै, कालीगण्डकी करिडरको दोस्रो खण्ड (बेनी–जोमसोम कोरला सडक)आव २०७३/७४ मा सुरू भएको हो । आव २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको सुरूआती लागत १० अर्ब रुपैयाँ बराबर रहेकामा हाल संशोधित लागत १५ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
२०२ किलोमिटर सडक कालोपत्रस्तरमा निर्माणरस्तरोन्नति गर्ने लक्ष्य राखिएकामा हालसम्म भौतिक प्रगति ७५ प्रतिशत छ । यसखण्डको हालसम्म ६५ किमी कालोपत्र, ८७ किमी कालोपत्र र १३ वटा पुल निर्माण सम्पन्न भएको छ ।


