फोर्डले सस्ता ईभी बनाउने, चिनियाँ कच्चा पदार्थ बिनै ‘एलएफपी ब्याट्री’ उत्पादन

काठमाडौं । अमेरिकी कार निर्माता फोर्डका बारेमा पछिल्ला वर्षहरूमा नेपाली बजारमा कमै चर्चा हुन्छ । त्यसको मुख्य कारण मासमा बिक्री हुने मोडल फोर्डले यहाँ उपलब्ध गराएको छैन ।

सन् २०२२ मा भारतीय प्लाण्ट बन्द गरेसँगै फोर्डका साना गाडी अहिले नेपालमा छैन । ठूला पीकअप (र्याप्टर र रेन्जर) तथा एभरेष्ट एसयूभी मात्रै उपलब्ध छ । महँगा मूल्यका यी गाडीमा धेरै कम मानिसको चासो रहन्छ ।

अब अमेरिकाबाट फोर्ड चाहनेहरूको लागि नयाँ खबर बाहिर आएको छ । फोर्डले आफ्नै ब्याट्री प्लाण्टबाट उत्पादन थाल्ने र कम मूल्यका गाडी बनाउने विषय बाहिर आएको हो । अमेरिकामा बन्ने कार तत्कालै नेपाल आउने र यहाँ प्रयोग गर्न पाउने अवस्था भने हुने छैन ।

फोर्डले ३ अर्ब डलर खर्चेर ‘ब्लूओभल ब्याट्री पार्क मिशिगन’ भनेर चिनिने ब्याट्री प्लाण्ट निर्माण गरिरहेको छ । जुन अमेरिकी कार निर्मार्ताहरू मध्येकै आफ्नै स्वामित्वको पहिलो ब्याट्री उत्पादन गर्ने कारखाना हो ।

यस प्लाण्टबाट उत्पादन हुने एलएफपी ब्याट्रीले चिनियाँ ब्याट्रीलाई राम्रो टक्कर दिने अनुमान गरिएको छ । फोर्डको लागि टेक्नोलोजी प्लेटफर्म प्रोग्रामर र ईभी प्रणाली विकासका उपाध्यक्ष ड्रेकका अनुसार नयाँ एलएफपी ब्याट्री उत्पादनपछि किफायती मूल्यमा विद्युतीय कार उपलब्ध हुनेछन् ।

मिडियाहरूलाई प्लाण्ट भिजिट गराएपछि उपाध्यक्ष ड्रेकले भनिन्, ‘गाडी टेक्नोलोजीमा अमेरिकी कम्पनीको पकड विस्तारै बाहिर गयो । अब नयाँ प्लाण्टसँगै फोर्डलाई पकड फिर्ता ल्याउने र विश्वलाई नेतृत्व गर्ने अवसर सृजना हुँदैछ ।’

मिशिगनको मार्शलमा २० लाख वर्गफिटमा फैलिएको प्लाण्टको निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । अबको केही महिनामै यसबाट ब्याट्री उत्पादन सुरू हुनेछ । यहाँ उत्पादन भएको ब्याट्री फोर्डको नयाँ मोडलमा प्रयोग हुनेछ । जसको मूल्य धेरैले सोचेभन्दा सस्तो हुने उपाध्यक्ष ड्रेकले दाबी गरिन् ।

फोर्डले आफ्नो प्लाण्टबाट २० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त ब्याट्रीले वार्षिक २ लाख ५० हजार कार उत्पादन गर्न पुग्नेछ । अहिले फोर्डले चिनियाँ कम्पनी सीएटीएलसँग ब्याट्री लिएर कार उत्पादन गर्दै आएको छ ।

अहिले विश्वभर चिनियाँ कच्चा पदार्थ बिना लिथियम आयोन ब्याट्री बनाउन सकिँदैन भन्ने भाष्य निर्माण भएको बताउँदै ड्रेकले भनिन्, ‘हामले चिनियाँ कच्चा पदार्थको बिनानै एलएफपी ब्याट्री बनाउँछौं । त्यसको लागि हामीले आपूर्ति श्रृंखला बनाएका छौं ।’


Back_to_top