सूर्यविनायक-धुलिखेल सडक : तोकिएकै समयमा बन्दै बन्दैन (भिडियो रिपोर्ट)

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडकखण्डको भौतिक प्रगति ४२ प्रतिशत मात्रै भएको छ । आयोजनाको काम सुरू भएको ३० महिना बितिसक्दा समग्रमा ४२ प्रतिशत भौतिक प्रगति भएको हो ।

२०७९ पुस २४ देखि स्तरोन्नति सुरू गरिएको सूर्यविनायक-धुलिखेल सडक ३६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, तोकिएको समय ६ महिना मात्रै बाँकी रहँदा ५८ प्रतिशत काम बाँकी हरेकाले समयमै सम्पन्न नहुने देखिएको हो ।

दुई खण्डमा ठेक्का लगाइएको यस सडकको समग्रमा भौतिक प्रगति ४२ प्रतिशत पुगेको आयोजनाका इन्जिनीयर विवेक पाण्डेले जानकारी दिए । उनका अनुसार सूर्यविनायकदेखि साँगासम्म बर्खामा समस्या नहुने गरी काम भइरहेको छ । साँगा-धुलिखेल खण्डमा समस्या नहुने उनले बताए ।

‘आयोजनाको काम तोकिएको समयमा नै सकिने छ । अब आउने आर्थिक वर्षमा सम्पूर्ण काम सकिएर सडक पूर्ण रुपमा तयार हुनेछ’, इन्जिनियर पाण्डेले भने ।

उनका अनुसार ८.४ किलोमिटर साँगा-धुलिखेल खण्डको ४८ प्रतिशत काम सम्पन्न भएको छ । यसखण्डको धुलिखेल चोकदेखि बाँसघारीसम्मको १ किलोमिटर सडक कालोपत्र भइसकेको छ । उक्त खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ ।

त्यस्तै, ७.५ किलोमिटर सूर्यविनायक-साँगा खण्डको काम ३५ प्रतिशत सकिएको पाण्डेले बताए । यसखण्डमा वाल लगाउने, नाला बनाउने, कल्भर्ट राख्ने, बेस राख्ने लगायत काम भइरहेको उनले बताए । यो खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा पाएको थियो ।

आयोजनका इन्जिनीयर पाण्डेले तोकिएकै समयमा काम सम्पन्न हुने दाबी गरे पनि हालको अवस्था हेर्दा असम्भव जस्तै देखिन्छ । ३० महिनामा जम्मा ४२ प्रतिशत काम पूरा भएकोमा अब ६ महिनामा ५८ प्रतिशत काम सक्न सम्भव देखिँदैन । वर्षायाम सुरू भइसकेकाले सडकको काम सुस्त छ । फिल्डमा थोरै मात्र जनशक्ति परिचालन गरिएको छ । रिपोर्टिङका लागि जाँदा पनि ८/१० जनाले साँगामा काम गरिरहेको भेटिए पनि अन्य स्थानमा काम नै रोकिएको छ ।

समयमै काम सम्पन्न नहुँदा सो सकड हुँदै आवतजावत गर्नेले भने निकै सास्ती भोग्नु परिरहेको छ । घाम चर्किने बित्तिकै धुलाम्मे हुन्छ । पानी पर्ने बित्तिकै हिलाम्मे बन्छ । हिलोका कारण गाडी चिप्लिने हुँदा दुर्घटनाको जोखिम समेत बढाएको छ ।

यस सडक हुँदै उत्तरी चिनियाँ नाका तातोपानी, दोलखा रामेछाप, ओखलढुंगा लगायत जिल्लामा जाने सवारी साधन चल्छन् । साथै, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै पूर्वी तराई जाने दैनिक १० हजार बढी सवारी साधन यहाँ ओहोरदोहोर गर्छन् ।


Back_to_top