भारतमा पल्सर एन १५० को उत्पादन बन्द गर्दै बजाज, यस्तो छ कारण

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता बजाज अटोले भारतमा बजाज पल्सर एन १५० मोटरसाइकलको उत्पादन बन्द गर्ने भएको छ ।

बजारमा एन १५० मोटरसाइकलको बिक्रीमा कमी आएपछि कम्पनीले उत्पादन बन्द गर्न लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

मिडियामा आएको रिपोर्ट अनुसार कमजोर बिक्रीका कारण कम्पनीले पल्सर सिरिजको एन १५० मोटरसाइकललाई आफ्नो आधिकारिक वेबसाइटबाटै हटाइ सकेको छ ।

कम्पनीले यस मोडललाई सधैंको लागि बन्द गर्न लागेको हो वा होइन भन्ने आधिकारिक रूपमा केही जानकारी दिएको छैन ।

पछिल्लो समय पल्सर १५० सीसी सेग्मेन्टको बिक्रीमा उच्च गिरावट आएको छ । सार्वजनिक बिक्री तथ्यांक अनुसार, सन् २०२५ मेमा बजाजले पल्सर १५० र एन १५० दुवै मोडल गरी कुल १५ हजार ९३७ युनिट मात्रै मोटरसाइकल बेचेको थियो । जबकि, सन् २०२४ को मेमा बिक्री संख्या २९ हजार ३८६ युनिट थियो ।

बजाजको पल्सर लाइनअपमा १५० सीसी सेगमेन्ट अन्तर्गत क्लासिक पल्सर १५० र पल्सर एन १५० दुई मोडल छन् । कम्पनीले क्लासिक मोडलको स्पोर्टी विकल्पको रूपमा पल्सर एन १५० बजारमा ल्याएको थियो । यसमा पल्सर एन१६० को जस्तै डिजाइन र लुक्स दिइएको थियो।

पल्सर एन १५० मा १४९.६८ सीसीको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन छ । जसले अधिकतम १४.३ ब्रेकहर्स पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ।

बजाज पल्सर भारतमा नेकेड स्पोर्टस् मोटरसाइकलको लागि निकै लोकप्रिय नाम हो। पल्सर सिरिजले वर्षौंदेखि प्रिमियम कम्युटर सेग्मेन्टमा मोटरसाइकलहरू उत्पादन गर्दै आइरहेको छ ।


Back_to_top