यामाहाले सार्वजनिक गर्यो १५० सीसी सेग्मेन्टमा नयाँ हाइब्रिड मोटरसाइकल

काठमाडौं । यामाहाले भारतमा १५० सीसी सेग्मेन्टमा नयाँ हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा यामाहा एफजेड एक्स १५० मोटरसाइकलको हाइब्रिड मोडल सार्वजनिक गरेको हो ।

यामाहाले केही समय अघि मात्रै आफ्नो पहिलो हाइब्रिड मोटरसाइकल यामाहा एफजेड एस एफआई हाइब्रिड भारतमा लन्च गरेको थियो । अहिले भने कम्पनीले आफ्नो दोस्रो एफजेड एक्स १५० लाई हाइब्रिडमा ल्याएको हो ।

मोटरसाइकलको पर्फमेन्समा कुनै परिवर्तन नगरी टेक्नोलोजीमा मात्रै सुधार गरिएको छ । यामाहा एफजेड एक्स हाइब्रिडमा १४९ सीसीको, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम १२.४ हर्स पावर तथा १३.३ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्ससँग छ।

१४१ किलोग्राम तौल रहेको पुरानो एफजेड एक्सको तुलनामा यो हाइब्रिड मोडलको तौल २ किलोग्राम बढी छ। यसमा दिइएको हाइब्रिड टेक्नोलोजीले मुख्यतया माइलेज बढाउन मद्धत गर्दछ।

यामाहा एफजेड एक्स हाइब्रिडमा साइलेन्ट स्टार्ट, स्टार्ट स्टप टेक्नोलोजीको रूपमा आइएसजी सिस्टम, अपडेट गरिएको स्वीचगियर, नयाँ कन्ट्रोल फंसन, ४.२ इन्चको कलरफुल टीएफटी डिस्प्ले, ट्युबलेस टायर र गोल्डेन कलरको अलोय ह्वील रहेको छ।

यसमा दिइएका अन्य फिचरहरू प्रायः सबै एफजेड एस हाइब्रिडमा जस्तै रहेका छन् । कम्पनीले एफजेड एक्स १५० हाइब्रिडको सुरुवाती मूल्य १ लाख ४९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।


Back_to_top