एकै दिन भारतमा तीन ब्राण्डका ईभीको बुकिङ खुला

काठमाडौं । भारतमा दुई नयाँ ब्राण्डले एकै दिन आफ्नो इन्ट्री गरेका छन् । दुबै नयाँ ब्राण्ड विद्युतीय कार निर्माता हुन् । अमेरिकी प्रिमियम इलेक्ट्रीक कार निर्माता टेस्ला र भियतनामको इलेक्ट्रीक कार ब्राण्ड भिनफास्टले भारतमा आफ्नो उत्पादनको बुकिङ खुला गरेका छन् ।

कोरियन कार निर्माता कियाले पनि कारेन्स क्लाभिस ईभी सार्वजनिक गरेको हो । टेस्लाले आफ्नो सर्वाधिक सफल मोडल वाईको बुकिङ खुलाएको छ । त्यसैगरी भिनफास्टले पनि आफ्नो उत्पादन भारतमा सार्वजनिक गरेको हो ।

भारतमा निकै प्रतिक्षा गरिएको टेस्लाको मोडल वाई दुई भेरियन्टमा सार्वजनिक भएको छ । टेस्ला इन्डियाले स्टायडर्ड रेन्ज भर्सन मोडल वाइको मूल्य ५९ लाख ८९ हजार रुपैयाँ तोकेको छ । जबकी यसको लङ रेन्ज भेरियन्टको मूल्य ६७ लाख ८९ हजार रुपैयाँ (एक्स शोरुम) तोकिएको हो ।

भारतमा मोडल वाई रियर ह्वील ड्राइभमा मात्रै बुकिङ खुला भएको छ । यसको अल ह्वील ड्राइभ मोडलको विषयमा कुनै आधिकारीक जानकारी बाहिर आएको छैन ।

भियतनामी ब्राण्ड भिनफास्टको गाडीको मूल्य लगायतका विषय बाहिर आएको छैन । तर, यसको भीएफ-सेभेन र भीएफ-सिक्स मोडल बिक्री सुरु हुन लागेको हो । भिनफास्टले भारतमा प्लान्ट पनि बनाइरहेको छ ।

कोरियन कार निर्माता कियाले पनि भारतमा बनेको इलेक्ट्रीक एमपीभी क्लाभिस सार्वजनिक गरेको छ । कम्पनीले हुन्डाई क्रेटामा रहेको ४२ र ५१ किलोवाट आवरको ब्याट्रीमै क्लाभिस बजारमा ल्याएको छ । मोटर पनि क्रेटा ईभीकै जस्तो ९९ र १२६ किलोवाट आवरकै प्रयोग गरिएको छ । कियाले ल्याएको ७ सिट क्षमताको क्लाभिसमा रहेको अधिकांश टेक फिचर क्रेटा ईभीबाटै दिइएको हो ।

भारतमा ईभीको बाटो खुल्दै

अहिलेसम्म असम्भव जस्तै लाग्दै आएको भारतमा पनि ईभीको हिस्सा बढ्ने निश्चित जस्तैछ । टाटा, एमजी, महिन्द्रा, हुन्डाई, बीवाइडीपछि किया, टेस्ला, भिनफास्ट जस्ता ब्राण्ड ईभीमा आउँदा बजारमा ठूलो फरक पर्ने विज्ञहरुको भनाइ छ । यसले भारतमा पनि ईभी बिक्रीमा नयाँ बाटो कोर्ने विश्वास गरिएको छ ।


Back_to_top