यस्तो छ उपत्यकामा भोलिबाट चल्ने १२ वटा इलेक्ट्रीक बस

काठमाडौं । महानगर यातायात प्रालिले भोलि असार ३२ गते बुधबारदेखि उपत्यकामा १२ वटा विद्युतीय बस संचालनमा ल्याउने भएको छ । कम्पनीले चलाउन लागेको विद्युतीय बसको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गर्ने छन् ।

महानगर यातायातले संचालनमा ल्याउन लागेको बस चेरी वन्डाले बनाएको हो । एक पटकमा ६८ जना यात्रुले यात्रा गर्न सक्ने बस आधुनिक सुविधाले भरिपूर्ण हुनेछ । यसमा ३३ जनाले सिटमा बसेर र ३५ जनाले उभिएर यात्रा गर्न सक्नेछन् ।

साझा यातायातले अहिले ४० वटा इलेक्ट्रीक बस संचालन गरिरहेको छ । त्यसपछिकै ठूलो संख्यामा महानगर यातायातले बस चलाउन लागेको हो । चेरी वन्डाले उत्पादन गरेको बसमा २४० किलोवाट पीक पावर प्रदान गर्ने मोटर दिइएको छ ।

सिंगल चार्जमा ३९२ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको चेरी वन्डामा १४४.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसमा प्रयोग भएको ब्याट्री विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले बनाएको हो ।

महानगर यातायातले यी विद्युतीय बसहरु चार्ज गर्न कलंकीमा चार्जिङ स्टेशन निर्माण गरिरहेको जनाएको छ । बसमा ३८५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कारण खराब बाटाहरुमा पनि सजिलै चलाउन सकिनेछ ।


Back_to_top