काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका मुख्य चोकहरुमा सडक लाइट जडान गरिने भएको छ । महानगरपालिकाले सुरुमा ३ सडकखण्डमा लाइट जडान गर्न लागेको हो ।
कलंकी–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सडक लाइट जडान गर्ने तयारी गरेको छ ।
त्यसका लागि आवश्यक ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको महानगरपालिकाका प्रवक्त इश्वरमान डंगोलले जानकारी दिए ।
उनकाअनुसार हाल सडक लाइट जडानका लागि सबै वडाहरुबाट माग आएको छ । तर, महानगरको बजेटले एकै पटक सबै ठाउँमा लाइट जडान गर्न नसक्ने भएकाले खन्ड–खन्ड गरेर काम अगाडि बढाउन लागिएको हो ।
‘बत्ती जडान गर्न धेरै ठाउँबाट माग आएको छ, सबै ठाउँमा लाइट राख्न त्यति बजेटले पुग्दैन । त्यसकालागि के गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ, सुरुमा मुख्य सडकमा लाइट राख्ने हाम्रो योजना हो,’ डंगोलले मेरोअटोसँग भने ।
हालको बजेट अन्तर्गत महानगरपालिकाले ७ हजार सडक लाइट जडान गर्ने योजना बनाएको छ ।
मागभए अनुसार बत्ती राख्ने हो भने १६ हजार सडक लाइट आवश्यक पर्ने र त्यसका लागि १० देखि १५ करोड रुपैयाँ आवश्यक पर्ने डंगोलले जानकारी दिए ।
उनका अनुसार यही चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ यस कामलाई अघि बढाइने छ ।
उनले अबको २ महिनामा टेन्डर सहित काम सुरु हुने जानकारी दिए ।
मुख्य सडकहरुमा बढि सडक दुर्घटना हुने भएकाले त्यसको रोकथामको लागिपनि सडक लाइटको आवश्यकता रहेको उनले बताए ।


