अलपत्र धुलिखेल-खावा सडकको नयाँ ठेक्का खुल्यो, १४ महिनामा काम सक्नुपर्ने

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा (४ किलाेमिटर) सडक निर्माणका लागि टेन्डर आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले बिहीबार एक सूचना प्रकाशित गर्दै उक्त सडक निर्माणको नयाँ टेन्डर आह्वान गरेको हो ।

सडक डिभिजनले उक्त सडक खण्ड १४ महिना भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी नयाँ ठेक्का आह्वान गरेको हो । अर्थ मन्त्रालयले उक्त सडक निर्माणका लागि ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

यसअघि पटक पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक डिभिजन भक्तपुरले गत २०८१ फागुन १५ गते ठेक्का सम्झौता तोडेको थियो ।

डिभिजनले ठेक्का तोडेपछि निर्माण कम्पनी गौरी पार्वतीले फागुन १९ गते उच्च अदालत पाटनमा उत्प्रेषण मुद्दा दायर गरेको थियो । ठेकेदारले परर्फमेन्स बण्ड (पीबी) र एड्भान्स पेमेन्ट ग्यारेन्टी ( एपीजी) तान्नका लागि बैङ्कह?लाई पत्राचार गर्ने, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णयको विरुद्धमा मुद्दा दायर गरेको थियो । गत असार २५ गते उच्च अदालत पाटनले निर्माण कम्पनी गौरी पार्वती जेभीले दायर गरेको उत्प्रेषणा खारेज गरिदिएको थियो ।

डिभिजन सडक भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते २२ महिना (२०८० चैत १९ गते)भित्र सडक निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । धुलिखेल-खावा सडकको ठेक्का पाएको निर्माण कम्पनीको २०८० चैत १९ बाट म्याद सकेर हर्जना तिराएर काम लगाएको तथा पटक/पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नआएपछि डिभिजनले ठेक्का अन्त्य गरेको थियो । धुलिखेल-खावा सडक स्तरोन्नतीका लागि निर्माण कम्पनीसँग भ्याटसहित २० करोड १९ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।

गौरी पार्वतीले धुलिखेलदेखि पकुचासम्मको २ किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस गर्ने काम सकेर कालोपत्रे गर्ने अवस्थामा र्पुयाए पनि गत असोज महिनाको बाढीपहिरोका कारण क्षति पुर्याएको थियो । बाँकी खण्डमा भने कुनै काम सुरू गरेका थिएन ।


Back_to_top