काठमाडौं । ओमोडा/जेको ब्राण्डको लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले ढिलो गरी बजारमा ल्याएको ओमोडा ई-फाइभको मूल्य ७ लाख रुपैयाँले घटेको छ ।
कम्पनी यसअघि ६१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको ई-फाइभको नयाँ मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेर बिक्री सुरु गरेको हो ।
कम्पनीले भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोविलिटी एक्स्पोमा विशेष मूल्य सार्वजनिक गरेको हो । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा घट्दो ब्याट्रीको मूल्य, ठूलो संख्यामा उत्पादन हुँदा घटेको उत्पादन लागत लगायत देखाउँदै मूल्य घटाएको हो ।
‘आयातमा केही मूल्य घटेसँगै हामीले मूल्य समायोजन गरेका हौं । यसले उपभोक्तालाई वेस्ट मूल्य प्रदान गरेको छ’, एसपीजी अटोमोबाइलका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले भने ।

ओमोडा ई-फाइभ कुपे डिजाइन क्रसओभर एसयूभी हो । नेपालमा उपलब्ध फिचर प्याक ई-फाइभमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज नेपाली सडकमै पाइएको छ ।
ओमोडा ई-फाइभले ११ किलोवाटसम्मको एसी चार्जर र ८० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । यदि, गाडीमा ३० प्रतिशत चार्ज छ र ८० प्रतिशत गर्नु पर्छ भने केबल २८ मिनेट चार्ज गर्दा पुग्छ ।
ओमोडाले यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । निकै मोर्डन क्याबिन रहेको ई-फाइभको ड्यासबोर्डमा दुई वटा स्क्रीन जोडेर दिइएको छ । दुवै स्क्रीनको साइज १२.३ इन्च छ ।
सुरक्षाको लागि एडाससहितको सेफ्टी फिचर उपलब्ध एसयूभीमा १८० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

