सवारीसाधनको बढ्दो प्रतिस्पर्धी बजार र प्रविधि तथा सवारीमा विद्युतीकृत गर्ने क्रमले सबै सवारी उत्पादकलाई दबाब बढेको छ । दुई ठूला सवारी उत्पादक कम्पनीहरु मारुती सुजुकी र टोयोटाबीचको समन्यवयमा भारतीय बजारमा सवारी उत्पादन हुने भएको छ । मारुती सुजुकी र टोयोटा किर्लोसकर मोटरबीच मारुतीको इर्टिगा र सियाज संयुक्त रुपमा उत्पादन गर्ने सहमति भएको हो ।
टोयोटा र सुजुकीबीच २०१७ को फेब्रुअरीमा भारतमा संयुक्त रुपमा सवारी उत्पादन गर्ने सहमतीमा हस्ताक्षर भएको थियो । टोयोटासँग इलेक्ट्रीफिकेसन र हाइब्रिड सवारीको लामो अनुभव भएकाले दुई कम्पनीबीच सहमति भएको हो ।
उक्त सहमति अनुसार सुजुकीले टोयोटालाई आफ्ना दुई मोडल सियाज र इर्टिगा उपलब्ध गराउने भएको छ । टोयोटाको ब्रान्डमा सुजुकीको बलेनो आगामी महिना भातरीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ । सुजुकीको भिटारा ब्रेजा भने २०२२ मा मात्र टोयोटाको ब्रान्डमा आउने जनाइएको छ, यसअघि ब्रेजा पनि चाँडै टोयोटा व्याचमा आउने बताइएको थियो । यो मोडल टोयोटा किर्लोसकरको कर्नाटक प्लान्टबाट उत्पादन हुने छ ।
मारुती सुजुकीले नयाँ अल्ट्रा हाइ–इफिसियन्सी पावरट्रेन विकास गरि रहेको छ जसमा टोयोटाको इमपुट झनै प्रभावकारी हुने अनुमान गरिएको छ । टोयोटाले इनोभा क्रिस्टा र फर्चुनरमा निक्कै राम्रो पर्फमेन्स गरि रहेको अवस्थामा बलेनो, भिटारा ब्रेजा, सियाज र इर्टिगा आएपछि यसको हिस्सा अझ बढ्ने देखिन्छ ।
त्यस्तै टोयोटाको कोरोला भने मारुती सुजुकीको फ्ल्यागसिपमा बन्ने छ ।

