काठमाडौं । मान्छेले गर्ने स्पाको बारेमा त हामी सबैले सुनेकै छौँ । स्पाकै लागि ठाउँ–ठाउँमा स्पा सेन्टर पनि खुलेका छन् । आवश्यक सर्भिस चार्ज तिरेर तपाई हामी आफ्नो शरिरको हातदेखि खुट्टासम्म स्पा गराउँदै आएका छौं ।
मानिसले आफ्नो शरिरको ख्याल गर्न स्वभाविक नै हो । यस्तै हामी आफैले चलाउने गाडीको भने कतिको ख्याल राख्छौँ ? हामी सक्दो राम्रो सर्भिसिङका लागि सर्भिस सेन्टरमा त गाडी लान्छाैँ । नेपालका सबै जसो सर्भिस सेन्टरमा पानी अनि हल्का केही केमिकल प्रयोग गरेर गाडी सफा गर्ने प्रचलन रही आएको छ ।
तर, अब नेपालमा आउन लागेको भेइकल स्पा सेन्टरले तपाइकाे गाडीको १ सय ३० वटा पाटपुर्जाहरुलाई सफा गर्नेछ । जसरी हाम्रो हात, खुट्टा, आँखालगायतका विभिन्न शरिरका अंगका लागि स्पाको फरक तरिका हुन्छ त्यसरी नै स्पा सेन्टरले गाडीका विभिन्न वडी पार्टसलाई फरक ढंगले विभिन्न सामाग्रीहरुको प्रयोग गरि सर्भिस गर्नेछ ।
यसका लागि ओटो केयर नामक एक कम्पनीले नेपालमा भेइकल स्पा खोल्ने तयारी गरेको छ । यो ब्यांलोरको ए ग्रेडमा पार्ने कम्पनी हो । यसले विभिन्न देशहरुमा आफ्नो भेकल स्पा सञ्चालनमा ल्याइसकेको छ । र, अब नेपालमा पनि एउटा उत्कृष्ट भेइकल स्पाको रुपमा सर्भिस सेन्टर खोल्ने कम्पनीको योजना रहेको भाष्कर ठाकुरले जानकारी दिए ।
उनका अनुसार हाल सो कम्पनीले नेपालमा आफ्नो सर्भिस सेन्टर खोल्न चाहेको छ । उक्त कम्पनीको भेइकल स्पामा न्यूनतम सर्भिसको मूल्य ५ हजार रुपैयाँ हुने उनले जानकारी दिए ।
उक्त सर्भिस सेन्टरले घरमै भ्यान लिएर आएर गाडी सर्भिस गर्नुका साथै पानी बिना नै विभिन्न क्रिमको प्रयोग गरी गाडी सफा गर्नेदेखि स्क्रयाच मेटाउने कामसमेत छुट्टा छुट्टै तरिकाले गर्ने उनको दाबी छ ।
‘जसरी हात, नङ, खुट्टा, पैतालाको छुटै स्पा गरिन्छ, यो भेकल स्पामा पनि टायर, त्यसको बडी पार्ट, स्क्र्याच लगायतका कुराको सर्भिस गर्ने तरिका छुट्टै हुन्छ,’ ठाकुरले मेरोअटोसँग भने ।


