कंचनपुर-कमला सडक : दोस्रो पटक थपिएको म्यादमा पनि पूरा हुने छैन छाँटकाँट, कति बन्याे ?

काठमाडौं । नेपालमा अधिकांश विकास आयोजना समयमै सम्पन्न नहुने रोगबाट ग्रसित छन् । तिनै मध्येको एक हो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कंचनपुर-कमला सडक खण्ड ।

दुई लेनमा रहेको सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६.८३ किलोमिटर सडकलाई २०७७ कात्तिक १३ गतेदेखि चारलेनमा स्तरोन्नति गर्न सुरू गरिएको थियो । तर, ३ वर्षमा काम सक्ने लक्ष्य राखिएको सडकको ५ वर्षमा ६५ प्रतिशत मात्रै काम पूरा भएको छ । दोस्रो पटक थपिएको म्याद ४ महिना मात्रै बाँकी रहँदा अझै ३५ प्रतिशत काम बाँकी छ ।

यो सडक एशियाली विकास बैंकको ऋण सहयोगमा फराकिलो बनाउन लागिएको हो ।  कुल १५ अर्ब ६६ करोड रुपैयाँ (भ्याट र पिससमेत) लागत रहेको यो सडक दुई खण्डमा ठेक्का लगाइएको छ । सप्तरीको कञ्चनपुरदेखि कुशहवासम्म ३९.४२ किलोमिटर (पूर्वीखण्ड) र सिरहाको बलानबाट कमलासम्म ४७.४१ किलोमिटर (पश्चिमखण्ड) रहेको छ ।

दुवै खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुप’ले पाएको छ । पूर्वीखण्डको ठेक्का ७ अर्ब २७ करोड र पश्चिम खण्डको ८ अर्ब ३९ करोड रुपैयाँमा पाएको हो ।

२०७७ कात्तिक १३ गतेदेखि थालिएको काम २० कात्तिक ११ मा सकिनुपर्थ्यो । सो अवधिमा काम पूरा नभएपछि पहिलोपटक म्याद २०८१ पुस १३ गतेसम्म म्याद थपिएको थियो । थपिएको समयमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटक थपिएको म्याद २०८२ पुस १६ गते (२०२५ डिसेम्बर ३१) सकिँदै छ ।

यस्तो छ प्रगति

यो सडक सही क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनमा विस्तार भइरहेको छ । जसमा ८६.८३ किमी कालोपत्र, ५४ वटा पुल र २२९ वटा कल्भर्ट निर्माण निर्माण गर्नुपर्ने सम्झौता रहेको छ ।समग्रमा भौतिक प्रगति ६५.४० प्रतिशत पुगेको छ ।

३९.४२ किमी लामो पूर्वीखण्डको हालसम्मको भौतिक प्रगति ६३.८१ प्रतिशत र वित्तीय प्रगति ५४.७१ प्रतिशत पुगेको योजना प्रमुख निरज शाक्यले जानकारी दिए ।

दुईतर्फ गरी कुल ७४ किमी कालोपत्र गर्नुपर्नेमा हालसम्म ४२ किमी सम्पन्न भएको उनले बताए । त्यस्तै, कालोपत्रका लागि करिब १२ किमीमा बेस र सबबेस राखिएको उनले बताए ।

‘पूवीखण्डमा दुईतर्फी गरेर ७४ किमी कालोपत्र गर्नुपर्छ । सोमध्ये ४२ किमीमा सम्पन्न भइसकेको छ । रुपनी बाहेक अन्य बजार क्षेत्रमा कालोपत्रको काम सकिएको छ,’ उनले मेरोअटोसँग भने, ‘थप १० किमी सडक कालोपत्रको तयारी भइरहेको छ । बेस र सबबेस राखिएको छ । चाँडै कालोपत्र हुन्छ ।’

यसखण्डमा रहेका २९ मध्ये २८ वटा पुल निर्माण भइसकेको र एउटा पनि अन्तिम चरणमा रहेको उनले बताए । त्यस्तै, कल्भर्ट तर्फ सबै (११३ वटै) निर्माण सम्पन्न भएको उनले बताए ।

पूर्वीको तुलनामा पश्चिम खण्डको भौतिक प्रगति थोरै बढी छ । पश्चिम खण्डका सूचना अधिकारी सरोजकुमार कोइरालाले हालसम्म ६७ प्रतिशत काम सकिएको जानकारी दिए ।

उनका अनुसार ४७ किमीमध्ये हालसम्म ३१ किमी कालोपत्र सकिएको छ । ‘दुवैतर्फ गरी कुल ४७ किमी सडक कालोपत्र गर्नुपर्छ । सोमध्ये हालसम्म दायाँबाँया दुवैतर्फ गरी ३१ किमी चारलेनमा कालोपत्र भएको छ । मिर्चैया, गोलबजार र लहान बजार क्षेत्रमा बाँकी छ,’ उनले मेरोअटोसँग भने, ‘कालोपत्र गर्न बाँकी क्षेत्रमा पनि सबबेस राख्ने काम लगभग सकिएको छ ।’

पुलतर्फ २५ वटै पुल निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए । ‘पुल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । सबै पुलको ढलान सकिएको छ । रेलिङ, रङरोगन गर्ने काम मात्र बाँकी छ । त्यो एक/डेढ महिनामै सकिन्छ,’ उनले भने ।

यस खण्डमा ११५ वटा कल्भर्ट बनाउनुपर्नेमा ११२ वटा सम्पन्न भएको उनले बताए । ३ वटा भने डिजाइन गरिए पनि आवश्यक नदेखिएकाले नबनाइने भएको उनले बताए ।

बाँकी नै छ साइट क्लियरेन्स

आयोजनाको झण्डै दुईतिहाई काम सम्पन्न हुँदासम्म पनि साइट क्लियरेन्स पूरा हुन सकेको छैन । दुवै खण्डमा व्यक्तिगत घरटहरा हटाइए पनि विद्युत् पोल हटाउने काम बाँकी छ ।

पश्चिमखण्डको विभिन्न ठाउँमा अझै १०० वटा बिजुलीका खम्बा स्थान्तरण गर्न बाँकी छ । पूर्वीखण्डको कल्याणपुर क्षेत्रमा १४ वटा पोल हटाउन र झण्डोलमा एउटा ट्रान्सफर्मर हटाउन बाँकी रहेको योजना प्रमुख श्रेष्ठले बताए । ती पोलहरू २/३ दिन भित्रै हटाइदिने प्राधिकरणले प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

८ वटा ओभरपास बन्दै

कंचनपुर-कमला सडक खण्डमा कुल ८ वटा ओभरपास निर्माण हुँदैछन् । जसमा पूर्वीखण्डमा २ र पश्चिम खण्डमा ६ वटा ओभरपास बन्ने छन् ।

पूर्वीखण्डको रुपनीमा २ वटा ओभरपास निर्माण भइरहेको छ । योजना प्रखुम श्रेष्ठका अनुसार दुवै ओभरपासको स्ट्रक्चरको काम सकिएको छ । अहिले र्याम्प निर्माणका लागि वाल लगाउने काम भइरहेको छ ।

त्यस्तै, पश्चिम खण्डको लहानमा ३, गोलबजार, मिर्चैया र कटारी चोकमा ११ वटा ओभरपास निर्माण हुँदै छन् । सूचना अधिकारी कोइरालाका अनुसार लहानका ओभरपासको स्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ भने अप्रोड सडक मात्र बनाउन बाँकी छ ।

त्यस्तै, मिर्चैया र कटारीको फाउण्डेसन निर्माण भई एवोटमेन्टको काम भइरहको उनले बताए । स्थानीयसँगको विवादले गोलबजारको भने काम सुरू हुन सकेको छैन ।  यहीखण्डको बन्दीपुरमा एउटा एनिमल क्रसिङ पनि बन्दैछ ।

तोकिएकै समयम नसकिने

आयोजनाको हालसम्मको प्रगति हेर्दा दोस्रोपटक थपिएको म्याद भित्र पनि नसकिने देखिन्छ । हालसम्म आयोजनाको ६५ प्रतिशत मात्रै काम पूरा भएको छ । अब ४ महिना ( पुस भित्र) ३५ प्रतिशत काम सम्पन्न गर्नुपर्ने देखिन्छ । जुन असम्भव जस्तै छ ।

पूर्वीखण्डका योजना प्रमुख श्रेष्ठले अहिलेसम्म चिनियाँ ठेकेदारले म्याद थप्नुपर्ने बारे केही नबताए पनि कामको गति हेर्दा नसकिने देखिएको बताउँछन् । ‘अहिले तलब नदिएको भन्दै मजदुरहरू कामै रोकेर हडतालमा उत्रिएका छन् । चाडवाड नजिकिँदै छ । कामको गति हेर्दा पुससम्ममा सकिने देखिँदैन,’ उनले भने, ‘तर, म्याद थपबारे कम्पनीले केही भनेको छैन ।’

पश्चिम खण्डमा लगभग काम सकिने सूचना अधिकारी कोइराला बताउँछन् । ‘अहिले वर्षा र स्थानीयको विवादका कारण काम सुस्त छ । हिउँद लागेपछि गति लिन्छ,’ उनले भने, ‘पुससम्म लगभग मुख्य काम सबै सकिने देखिन्छ । सानातिना काम मात्र बाँकी रहन्छ होला ।’

दुवै खण्डमा सडक निर्माणले अपेक्षित गति लिन नसक्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मले हुने स्थिति छ । निर्धारित समयमा पूर्वाधार निर्माण हुन नसक्दा देशको अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।


Back_to_top