उपत्यकाको ट्राफिक व्यवस्थापनको योजना बनाउने निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि योजना बनाउने भएको छ ।

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा योजना बनाउने निर्णय गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले बताए अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा ल्याउने बताएका थिए ।

बैठकमा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल गर्न सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।

मुख्यमन्त्री बानियाँले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन समेत दिए । उनले काठमाडौं उपत्यका र उपत्यका बाहिर संचालन हुने सार्वजनिक सवारीको रुट पर्मिटलाई थप व्यवस्थित बनाउँदै विद्युतीय प्रणालीमार्फत इजाजत पत्र जारी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै, बैठकले यातायात मन्त्रालयले सम्बन्धित जिल्लाको यातायात कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण कक्षा संचालनको व्यवस्था गर्ने, उपत्यकामा आवश्यकता अनुसार ट्राफिक लाइटको व्यवस्था गर्ने, स्थानीय तहसँग समन्वय गरी जडित लाइटहरूको नियन्त्रण र संचालन ट्राफिक प्रहरीले गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


Back_to_top