काठमाडौं । चिनियाँ न्यू इनर्जी ब्राण्ड अबतारले नयाँ मिड साइज एसयूभीको बुकिङ सुरु गर्ने भएको छ । कम्पनीले चीनमा आजबाटै अबतार-०७ को प्रि-बुकिङ खुला गर्न लागेको हो ।
अबतार-०७ को टिजर पोस्टरका अनुसार नयाँ एसयूभीमा हुवावेको एडास ४.० इन्टेलिटेन्ट ड्राइभिङ असिस्ट सिस्टम उपलब्ध हुनेछ । नेपाल पनि आउने अबतार-०७ ले दीपल एस-०७, एमजी आइएम-सिक्स र बीवाइडी सिलायन-सेभेनसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
झट्ट हेर्दा यसअघि बजारमा आएका अबतारका अन्य मोडल जस्तै लाग्ने अबतार-०७ को फोकस नयाँ टेक्नोलोजी अफरमा रहेको सहजै अनुमान गर्न सकिन्छ ।
कम्पनीले अबतार-०७ लाई अगस्ट ३० बाट सुरु भएको छेन्दु अटो शोमा प्रदर्शनी गरेको थियो । कम्पनीले नयाँ एसयूभीलाई चीनमा प्योर इलेक्ट्रीक र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक गरी दुई विकल्प दिएको छ ।
अबतार ब्राण्डको स्थापना चांगान अटोमोवाइल, हुवावे र सीएटीएल मिलेर स्थापना गरेका हुन् । चांगान गाडी उत्पादन गर्न, हुवावे टेक जाइन्ट र सीएटीएल ब्याट्री उत्पादनमा बलिया कम्पनी हुन् ।
यी तीनवटै कम्पनीको अनुभवलाई एक ठाउँमा ल्याएको अबतार-०७ मा चांगान अटोमोबाइलको कुनलुन स्मार्ट रेन्ज एक्सटेन्डर र थाइहांङ इन्टेलिजेन्ट कन्ट्रोल च्यासिस प्रयोग भएको छ ।
त्यसैगरी, हुवावेको ‘किनकुन एडास ४.०’ र हार्मोनी ओएस स्मार्ट ककपिट दिइएको छ । अबतार-०७मा सीएटीएलले उत्पादन गरेको सेनसिङ फोरसी सुपर चार्जिङ ब्याट्री र सेन्जीङ सुपर हाइब्रिड ब्याट्री प्रयोग भएको छ ।
अबतारको नयाँ एसयूभीमा पहिलो पटक हुवावेको क्विनकुन एडीएस ४.० हार्मोनीओएस स्मार्ट ककपिटसँगै ३९ किलोवाट आवरको सेन्सीङ सुपर हाइब्रिड ब्याट्रीका प्रयोग भएको छ । सीएटीएलले बनाएको उक्त ब्याट्रीको पिक डिस्चार्ज पावर ‘नाइन-सी’ छ ।
कम्पनीले अबतार-०७ लाई ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । यसमा ८२.१६ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको रेन्ज ६५० किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।
एक्सटेन्डेड रेन्ज भर्सनमा १.५ लिटरको इन्जिन दिएको छ । अबतार-०७ टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ दुबै अप्सनमा आउने छ ।

