काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी ग्रेटवाल मोटर्स (जीडब्लुएम) ले सन् २०२२ मा लन्च गरेको ओरा सिरिजमा क्लासिक मोडलको सफलतापछि एसयूभी पनि आउने भएको छ । चिनियाँ निर्माताले कम्प्याक्ट एसयूभी साइजमा ओरा एसयूभी ल्याउने भएको हो ।
जीडब्लुएमले ओरा न्यू इनर्जी भेहिकल ब्राण्ड सन् २०१८ मा स्थापना गरको थियो । नेपाली बजारमा पनि ओराको क्लासिक कार ओरा–०३ बिक्री हुँदै आएको छ ।
कम्पनीको सन् २०२५ को पहिलो ८ महिनामा विश्वभर केबल १४ हजार ७८१ युनिट विद्युतीय कार बिक्री गरेको छ । घट्दो बिक्रीमा पूर्ण बिराम लगाउँदै एसयूभी मार्फत बजारमा बलियो उपस्थिति जनाउने योजनामा कम्पनी रहेको देखिन्छ ।
जीडब्लुएमले यही सेप्टेम्बर १० मा चिनियाँ मिनिस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नोलोजीमा नयाँ ओरा क्याट एसयूभी दर्ता गरेको हो ।
नयाँ ओरा क्याट एसयूभीको लम्बाइ ४४७१ एमएम, चौडाई १८८३ एमएम र उचाइ १६४१ एमएम रहने छ । यसको ह्वीलवेस २७२० एमएम लामो हुनेछ । ओरा क्याट एसयूभीको अप्रोच एङ्गल १७ डिग्री र डिपार्चर एङ्गल २५ डिग्री हुनेछ ।
यसको अगाडि राइट फेन्डरमा चार्जिङ पोर्ट, रुफरेल, लाइडार सेन्सर रहने छ । यसमा १८ इन्चको ह्वील, सर्कुलर हेडलाइट, क्लोज फ्रन्ट इण्ड, ठूलो साइजको एयर इनटेक, छोटो बम्पर, परम्परागत डोर ह्याण्डल र टेल लाइट स्ट्रीप दिइने छ ।
कम्पनीका अनुसार ओरा क्याट एसयूभीमा १५० किलोवाटको सिंगल इलेक्ट्रीक मोटर रहने छ । यसको टपस्पीड १७० किलोमिटर प्रतिघण्टाको छ । ओरा क्याट एसयूभीमा एसभोल्टले बनाएको एलएफपी ब्याट्री रहने पनि यसको साइजका बारेमा कुनै जानकारी दिइएको छैन ।

