काठमाडौं । बाढी पहिरोका कारण देशभरका ५ सडकमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।
नेपाल प्रहरीका अनुसार मंगलबार अपराह्न १२ः२० बजेसम्म देशभरका ५ सडक खण्ड पूर्ण रूपमा बन्द रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको रसुवागढी नेपाल चीन जोड्ने पुल बगाउँदा गल्छि-त्रिशूली-रसुवागढी सडक बन्द भएको छ । गल्छिदेखि स्याफ्रुबेँसीसम्म भने एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको कोदारीमा पहिरो आउँदा अरनिको राजमार्ग, धादिङको बादरेमोडमा पहिरो आउँदा पृथ्वी लोकमार्ग र चितवनको तुइनखोलामा पहरिो खस्दा नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा बन्द भएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर (बागलुङ र गैँडाकोट खण्ड), पूर्व-पश्चिम राजमार्गको नवलपरासी पूर्व र मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड भने एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।


