काठमाडौं । चेरी मोटर्सको अफरोड न्यू इनर्जी भेहिकल ब्राण्ड आइकारमा नयाँ आएको ‘सुपर भी-२३ एडिसन’ले विश्व रेकर्ड कायम गरेको छ । कम्पनीको नयाँ एडिसनले ४०० मिटर अग्लो बालुवाको ढिस्को २ मिनेट ३८.३४ सेकेण्डमा उक्लिएर गिनिस वर्ल्ड रेकर्ड बनाएको हो ।
यति अग्लो बालुवाको ढिस्कोमा यसअघि कुनै पनि कारले यति छिटो सफल यात्रा गरेको थिएन । आइकार भी-२३ नेपालमा पनि बिक्री घोषणा भइसकेको मोडल हो । यसको सुपर एडिसन कम्पनीले केही समय अगाडि मात्रै घोषणा गरेको थियो ।
चिनियाँ बजारम आइकार भनिए पनि अन्तर्राष्ट्रिय बजारमा ट्रेडमार्कको मुद्दाको कारण ‘आई काउर भी-२३’ नामबाट निर्यात भइरहेको छ । बक्सी डिजाइनको आइकार भी-२३ भदौमा नेपाल आएको हो । अहिले १ युनिट मात्रै नेपालमा छ ।
सुपर भी-२३ एसयूभी नेपाल आएकै मोडल हो भन्दा फरक पर्दैन । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम लामो छ । २१ इन्चको ह्वील दिएको आइकार भी२३ को ह्वीलवेस २७३५ एमएम लामो छ ।
चिनियाँ बजारमा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई भर्सनमा उपलब्ध एसयूभीमा ५९.९३ र ८०.१६ को दुई ब्याट्री दिइएको छ । नयाँ सुपर भेरियन्टको रियर ह्वील ड्राइभमा १८५ किलोवाट ३०० न्यूटन मिटर टर्क दिने इलेक्ट्रीक मोटर छ ।
अल ह्वील ड्राइभ अप्सनमा ४९० न्यूटन मिटर टर्क जेनेरेट गर्ने ३३५ किलोवाटको ड्यूल मोटर सेटअप छ । यसको स्टेरिङ ह्वीलमा पावर बुस्ट बटन समेत दिइएको छ ।
धेरै कुरा नेपाली बजारमा बिक्री हुने भी-२३ कै छ । क्याविनमा ८.८८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, क्वालकम स्न्यापड्रागन ८१५५ चीपसहितको १५.४ इन्चको २.५ के सेन्टर कन्ट्रोल स्कृन पाउन सकिन्छ । वायरलेस कनेक्टर फिचर रहेको एसयूभी पर्फमेन्समा पनि अब्बल रहेको मानिन्छ ।
आइकार सुपर भी-२३ को अप्रोच एङ्गल ४३ डिग्री र डिपार्र्चर एङ्गल ४१ डिग्री छ । ६०० एमएम गहिरो पानीमा गुडाउन सकिने एसयूभीमा २२ वटा सेन्सर र २३ थरि फिचर भएको फाल्कन ५०० एड्भान्स ड्राइभिङ असिस्ट उपलब्ध छ ।
आइकार भी-२३ सुपर अप्सनको बडीका विभिन्न स्थानमा स्पेशल रातो रंगले सजिएको ‘एस’ लेखेको लोगो देख्न पाइन्छ ।


