काठमाडौं । नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा दशैंभर सडक मर्मत गर्न आपतकालीन मर्मत सम्भार टोली खटाइएको छ । दशैंको बेलामा सडकमा कुनै समस्या आइहाले तत्कालै मर्मत गर्नका लागि टोली परिचालन गरिएको हो ।
११४ किलोमिटर लामो नारायणगढ-बुटवल सडक अहिले निर्माणाधीन अवस्थामा छ । यस सकडको १०० किमी बढी कालोपत्र भइसकेको छ । तर, दाउन्ने क्षेत्रमा अझै १० किमी सडक कालोपत्र हुन सकेको छैन। दाउन्ने क्षेत्रमा सामान्य वर्षा हुने बित्तिकै सडक चिप्लो भई घण्टौँसम्म अवरुद्ध हुने, सडक भासिने लगायत समस्या छ ।
नारायणगढ-बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले दशैंको बेला सडकमा कुनै समस्या आए तत्कालै मर्मतसम्भार गरी यातायात सुचारु गराउन आपतकालीन टोली खटाइएको जानकारी दिए ।
उनले सडक बिग्रिँदा यात्रुले सास्ती भोग्नुपर्ने भएपछि प्राविधिक, उपकरण र आवश्यक जनशक्ति सहितको आपतकालीन मर्मतसम्भार टोली चौबीसै घण्टा परिचालन बताए ।
विगतका वर्षहरूमा पनि दाउन्ने खण्डको मर्मत सम्भारका लागि उपकरणसहितको टोली परिचालन गरिए पनि प्रभावकारी हुन सकेको थिएन । यस वर्ष भने दशैँमा पनि बिदामा नबस्ने गरी कर्मचारी खटाइएको उनले बताए ।
दाउन्ने क्षेत्रको करिब १३ किमी सडकमध्ये करिब १० किमी ढलान र कालोपत्र हुन बाँकी छ ।
२०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको यो सडकको हालसम्मको समग्र भौतिक प्रगति ७२ प्रतिशत छ । आयोजनाको चौथोपटक थपिएको म्याद २०८३ साउन ७ गतेसम्म रहेको छ ।

