मोट्रेक्सले गाडी बनाउन राखेको विभिन्न सर्तको विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । खुल्ला बजार अर्थतन्त्रमा एउटा मात्र कम्पनी आउन सक्नेगरि मोट्रेक्सले राखेको सर्त प्रति नेपाली व्यवसायीहरुले असहमति जनाएका हुन् । उनीहरुले मंगलबार लगानी बोर्डका सीइओलाई भेटेरै यस्तो बताएका हुन् ।
दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले केही समय अघि नेपालमा सवारी एसेम्बल गर्ने भन्दै १० अर्ब रुपैयाँ भन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी प्रस्ताव गरेको थियो । जुन लगानी बोर्ड नेपालले स्वीकृतसमेत गरि सकेको छ ।
तर सवारी एसेम्बल प्लान्ट स्थापनाका लागि मोट्रेक्सले राखेको सर्त अव्यवहारिक भएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको टोलीले लगानी बोर्डको सीइओ महाप्रसाद अधिकारीलाई भेटेका हुन् ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउनु स्वभाविक भएको तर त्यस्तो लगानी आउँदा स्वदेशि कम्पनीलाई रोक्न नहुने भन्दै नाडाको टोलीले लगानी बोर्डका सीइओलाई भेटेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।
‘हामीले मंगलबार लगानी बोर्डका सीइओलाई भेटेर प्रतिस्पर्धालाई रोक्ने गरि एउटा कम्पनीलाई मात्र ल्याउन नहुने भन्यौं’, दाहालले भने, ‘बोर्डका सीइओले लगानी स्वीकृत भएपनि सर्तहरु बारेमा छलफल मात्र भएको तर निर्णय भइनसकेको बताउनु भएको छ ।’ लगानी बोर्डका सीइओले नाडाले उठाएको विषय जायज भएकाले आफूले कमिटीमा कुरा राख्ने बताएको दाहालले बताए ।
प्रतिस्पर्धाको यो जमानामा एउटालाई मात्र सहज हुने गरि सर्तहरु स्वीकार गर्न नहुने व्यवसायीहरुको भनाई छ । उक्त कम्पनीको सर्त हेर्दा विकासलाई रोक्न खोजेजस्तो देखिएको दाहालको भनाई छ ।
नाडाको तर्फबाट उद्योगवाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, नाडाका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ, नाडाको भेहिकल कमिटिका सभापति करण चौधरीलगायतको टोली लगानी बोर्ड पुगेको थियो ।
मोट्रेक्सले राखेका सर्तहरु मध्ये गाडी आयात गर्न पाउनु पर्न सर्तले व्यवसायीहरु आश्चर्यमा परेका छन् । लगानी गरि नेपालमै सवारी एसेम्बल गर्छु भन्नेले सवारी आयात गर्न पाउनु पर्छ भन्नु हास्यासपद भएको नाडाको भनाई छ ।
‘विदेशि कम्पनीलाई स्वागत गर्नुपर्छ । तर त्यसो भन्दैमा स्वदेशि लगानी तथा अर्को विदेशि लगानीलाई निस्तेज गर्नु पनि त भएन ।’ सबैलाई सहज हुने गरि लगानीको वातावरण बनाउनु पर्छ भन्ने नाडाको माग रहेको दाहालले बताए ।
यस्ता छन्, मोट्रेक्सले राखेका १३ सर्त
१. सात वर्षसम्म समान प्रकारका अन्य उद्योगलाई लाइसेन्स जारी गर्न नपाउने साथै ७ वर्ष पछि लाइसन्स दिएमा पनि कम्तीमा १० करोड डलरको सतप्रतिशत विदेशी लगानीलाई मात्र दिन पाउने ।
२. कर्पोरेट ट्याक्स, डिभिडेन्डमा ट्याक्स तथा भ्याटमा ५ वर्ष पूर्ण छुटको व्यवस्था गर्नु पर्ने ।
३. बिजुली र अन्य आवश्यक सामग्रीमा छुटको व्यवस्था गर्नु पर्ने ।
४. औद्योगिक क्षेत्र भित्र लाग्ने भाडामा छुटको साथै पहिलो २ वर्षको भाडामा पूर्ण छुट ९मोरक्कोमा सरकारले प्लान राख्ने साइट दिने गर्छ० दिनु पर्ने ।
५. सहायक कम्पोनेन्टहरु (पाटपूर्जा,उपकरण तथा विधुतीय सामग्री) उत्पादन उद्योग राख्नका लागि सोही लाइसन्समा अनुमति दिनुपर्ने ।
६. सम्भावीत लकानीकर्ताका साथै रिसर्च तथा सम्भाव्यता अध्ययनका लागि ६ महिनाको नन्टुरीस्ट भिसा दिनु पर्ने । साथै विदेशी लगानीकर्ता र तिनका परिवार तथा विदेशी कामदारहरुलाई उनीहरुको लगानी रहेसम्म कमर्सियल भिसाको व्यवस्ता गरिनु पर्ने ।
७. फ्याक्ट्रीका लागि बाटो, बिजुली तथा पानीको व्यवस्था सरकारवाट हुनु पर्ने ।
८. क्यापीटल सामाग्रीहरु जस्तो मेसिनरी, प्लान्ट, इक्यूपमेन्ट जस्ता सामानको आयातमा पूरा भन्सार छुटको व्यवस्थाका साथै, उक्त सामाग्रीहरु परिवर्तन गर्दा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने ।
९. फ्याक्ट्री निर्माणका क्रममा मोट्रेक्स नेपाललाई दिइएको कोटामा पूर्ण निर्मित वस्तुको आयातमा भन्सार दरमा छुटको व्यवस्था गर्नु पर्ने ।
१०. व्यापारीक कार्यका लागि जमिन खरिद गर्ने व्यवस्था तथा सम्पत्ति तथा अन्य करहरुमा पूर्ण छुट हुनु पर्ने ।
११. ट्रेनिङ्ग र रिसर्च तथा डेभलपमेन्ट फेसिलीटीमा कर छुटको व्यवस्था (मोरक्को सरकारले रेनोलाई ट्रेनिङ्ग सेन्टर उपलब्ध गराएको छ) हुनु पर्ने ।
१२. सरकारले अत्यावश्यक उद्योगका रुपमा तोक्नु पर्ने ।
१३. विदेशी कामदारका तलब, भत्ता तथा अन्य आम्दानीहरु विदेशी मुद्रामा उनिहको देशमा लान पाउने व्यवस्था गरिनु पर्ने ।

