४ इलेक्ट्रीक कारको हाइवेमा रेन्ज टेस्ट, सरप्राइज मोडल कुन ?

काठमाडौं । विद्युतीय कारको रेन्ज टेस्ट विश्वभर चर्चाको विषय बन्दै आएको छ । अमेरिकामा इपीए टेस्ट, युरोपमा एनइडीसी, चीनमा सीएलटीसी टेस्ट भएपनि यिनीहरुको रेन्ज टेस्ट र बास्तविक सडकमा गुडाउँदा फरक रेन्ज हुने गर्छ ।

त्यसैले पछिल्ला दिनमा डब्लूएलटीपी टेस्टलाई धेरैले आधार बनाउने गरेका छन् । वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसिडुअर (डब्लूएलटीपी) लाई विश्वब्यापी रुपमा स्विकार गरिएको छ । तर, यसको टेस्ट रिपोर्टले देखाए अनुसार पनि सडकमा ५ देखि १५ प्रतिशतसम्म कम रेन्ज पाइन्छ ।

‘इनसाइड ईभी’ले अमेरिकामा विभिन्न ४ मोडलको हाइवे रेन्ज टेस्ट गरेको थियो । एउटै बाटो, एउटै स्पीड, एउटै मौसममा सबै कार चलाइएको थियो । परीक्षणको क्रममा कारको तिब्र गति ११२ किलोमिटर प्रतिघन्टा रहेको इनसाइड ईभीले जनाएको छ ।

उक्त परीक्षणमा नेपालमा पनि बिक्री हुँदै आएका मोडल पनि भएको कारण हाम्रो लागि पनि यो समाचार चासोको विषय बनेको हो । यद्यपि, नेपालमा उपलब्ध केही मोडलमा भने मोटर र ब्याट्री साइज फरक छन् ।

नेपालमा उपलब्ध टेस्ला मोडल वाई, एक्सपेङ जी सिक्स, लीपमोटर सी-१० उक्त परीक्षणमा सहभागि थिए । अर्को एउटा मोडल भने किया ईभी थ्री थियो । कियाको ईभी थ्री पनि छिट्टै नेपाल आउने मोडलमा पर्छ ।

अमेरिकी हाइवेमा भएको परीक्षण अनुसार सबैभन्दा धेरै रेन्ज किया ईभी थ्रीले दियो । इनसाइड ईभीले प्रकाशित गरेको मिडिया रिपोर्टमा किया ईभी थ्रीले सिंगल चार्जमा ५२७ किलोमिटर रेन्ज दिएको थियो । किया ईभी थ्रीले दावी गरे अनुसार ८८ प्रतिशत सफलता पायो । कियाले यसमा ८१.४ किलोवाट आवरको ब्याट्री दिएको छ ।

दोस्रो धेरै रेन्ज एक्सपेङ जी सिक्सले दियो । चिनियाँ स्टार्टअप कम्पनीको जी सिक्सले ५२५ किलोमिटर रेन्ज दिएको थियो । किया ईभी थ्रीभन्दा ठूलो क्रसओभर एसयूभीले डब्लूएलटीपीले प्रमाणित गरेकोभन्दा ७ प्रतिशत कम रेन्ज दिएको थियो । यसमा ८७.५ किलोवाट आवरको ब्याट्री छ ।

तेस्रो धेरै रेन्ज टेस्ला मोडल वाईको देखियो । टेस्ला मोडल वाईले ५२४ किलोमिटर रेन्ज दिएको थियो । उक्त रेन्ज डब्लूएलटीपीले प्रमाणित गरेभन्दा १५ प्रतिशतले कम हो । टेस्ला मोडल वाईमा ७५ किलोवाट आवरको एनसीएम ब्याट्री छ ।

परीक्षणमा समाबेस लीपमोटर सी-१० को रेन्ज पनि डब्लूएलटीपीले प्रमाणित गरेभन्दा १५ प्रतिशतले नै कम आएको थियो । यसले सिंगल चार्जमा ३५९ किलोमिटर रेन्ज दिएको थियो । यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ ।


Back_to_top