काठमाडौं । निसान सर्भिसले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ ।
स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा योगदान गर्ने उद्देश्यले कम्पनीले उक्त सहयोग गरेको हो ।
विरोधका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप उक्त सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गरे ।
यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।


