काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तारका क्रममा लहानमा ‘ओभरपास’ निर्माण पुनः सुरू गरिएको छ ।
गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास निर्माण ३ महिनापछि असोज २३ गतेदेखि फेरि सुरू भएको हो ।
स्थानीस्यको अवरोधका कारण उक्त ओभरपास निर्माण रोकिएको थियो । लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ ।
कञ्चनपुर-कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए । उनले भने, ‘अण्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।’
त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ ५५० मिटर, ग्राउण्ड क्लियरेन्स ६ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने जनाइएको छ ।
उक्त ओभरपास निर्माण चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुपले गरिरहेको छ ।
सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न १५ अर्ब ६६ करोड रुपैयाँको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म ११२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छ भने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ ।


