काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान विश्वभर चर्चा हुने अटोमोबाइल ब्राण्ड हो । नेपालमा पनि विगत ४० वर्षदेखि निसानका कारहरू उपलब्ध छन् । समय क्रमसँगै नेपालमा डिलर परिवर्तन भए पनि निसानको उपस्थिति यादगार नै छ ।
अहिलेको ईभी युगमा पनि निसान नेपालमा एउटा मास सेलिङ मोडल लिएर बाँचिरहेको छ । आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले म्याग्नाइट एसयूभी सन् २०२५ को साढे ९ महिनामा मात्रै २८५ युनिट आयात गरेको छ । जुन संख्या अहिलेको नेपाली बजारको लागि निकै राम्रो मान्न सकिन्छ ।
करिब आधा दर्जन बढी मोडल लिएर सुजुकीले ९०० भन्दा कम युनिट कार बिक्री गरिरहेको समयमा निसान म्याग्नाइटको बिक्री निकै राम्रो हो ।
सन् २०२४ मा विश्व बजारमा ३३ लाख ४८ हजार ६८७ युनिट कार बिक्री गरेको निसान मोटर्सको सबैभन्दा ठूलो बजार अमेरिका हो । अमेरिकी बजारमा गत वर्ष कम्पनीले ९ लाख २४ हजार ८ युनिट कार बिक्री गरेको थियो ।
त्यसैगरी, चीनमा ६ लाख ९६ हजार ६३१, जापानमा ४ लाख ७५ हजार ३७९ युनिट, मेक्सिकोमा २ लाख ५६ हजार २२७ युनिट र क्यानडामा १ लाख ३ हजार ९२ युनिट कार बिक्री गरेको थियो । भारतमा भने निसानको बिक्री घट्दो क्रममा थियो ।
सन् २०२५ को अक्टोबर महिनामा भारतमा ९ हजार ६७५ युनिट कार बिक्री गर्दै आफ्नो बलियो उपस्थिति रहन्छ भन्ने सन्देश निसानले दिएको छ । त्यही सन्देशको लागि उसले आगामी वर्ष २०२६ मा तीन नयाँ मोडल बजारमा ल्याउने घोषणा गरिसकेको छ ।

मजदुर कटौती, विश्वभर रहेका धेरै प्लाण्ट बन्द र नगद प्रवाहको कमी जस्ता समाचार सन् २०२४ को मध्यदेखि २०२५ को आधासम्म विश्वभर आइरहे । यसले निसानलाई सकारात्मकभन्दा पनि नकारात्मक समाचारको केन्द्रमा राखिरह्यो । तर, अब फरक परिदृश्य देखिन थालेको छ । त्यो फरक परिदृश्यलाई तीन खण्डमा हेर्न सकिन्छ ।
पहिलो खण्ड
निसानको संकट अब विस्तारै कम हुँदै गएको देखिन्छ । उसको संचालन घाटा सन् २०२५ को अन्तिमसम्म पुग्दा १.८ बिलियन डलरमा सीमित हुने अनुमान छ । पहिला भोगिरहेको अमेरिकी करको संकट, आपूर्ति श्रृंखलामा देखिएको डिस्टर्ब पनि कम हुँदै गएको छ । चीपको संकट पनि धेरै मात्रामा हल भएको कारण निसान बलियो अवस्थामा जाँदै गरेको संकेत गर्छ ।
दोस्रो खण्ड
नयाँ योजनाको कारण कम्पनीले तीव्र गतिमा सुधार गर्ने देखिएको छ । चीनमा आक्रमक रणनीति तयार गर्दै साझेदारीलाई बलियो बनाउनु, भारतमा रेनोलाई प्लाण्ट बिक्री गर्दै उत्पादनमा आधारित साझेदारी गर्नु, विद्युतीय गाडीको नयाँ मोडलहरूमा केन्द्रित हुन र २० हजार कर्मचारी कटौती गर्दै उत्पादन लागत घटाउनुले उसको नाफामा सुधार आउने देखिएको हो ।
तेस्रो खण्ड
भविष्यमा निसान मोटर्स के होला भन्ने चिन्ता जापानी उद्योगसँग विश्वभर थियो । तर, अब सबैले ढुक्कसँग भन्न थालेका छन्, ‘निसान मोटर्स’ २०२९ सम्ममा धेरै बलियो कम्पनी बन्नेछ । उसको बिक्री बढ्ने र प्रतिसेयर आम्दानी ९१.६ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण भएका छन् ।

