काठमाडौं । चिनियाँ स्टार्टअप अटोमोबाइल ब्राण्ड लीपमोटरले आफ्नो पहिलो प्रिमियम ह्याचब्याक लाफा फाइभको प्रि सेल सुरू गरेको छ ।कम्पनीले चिनियाँ बजारमा लाफा फाइभको विभिन्न ५ भेरियन्टको बुकिङ लिन सुरू गरेको हो ।
कम्पनीले लाफा फाइभको सबैभन्दा सस्तो ५१५ प्लस भेरियन्टको मूल्य १ लाख ५ हजार ८०० आरएमबी (१४ हजार ८५८ अमेरिकी डलर) तोकेर बुकिङ खुलाएकाे छ । त्यस्तै, ५१५ प्रो, ५१५ म्याक्स, ६०५ प्रो, र ६०५ म्याक्सको मूल्य क्रमशः १ लाख १५ हजार ८००, १ लाख २५ हजार ८००, १ लाख २१ हजार ८०० र १ लाख ३१ हजार ८०० आरएमबी तोकेको छ ।
लाफा फाइभको आधिकारिक बिक्री नोभेम्बर २८ देखि हुनेछ । उक्त समयमा अहिले तोकिएको मूल्य केही घट्ने अपेक्षा गरिएको छ । यसको टप अल्ट्रा भेरियन्ट भने २०२६ देखि बिक्री सुरू हुने जनाइएको छ ।
लाफा फाइभ मोडल यसअघि नेपाल आएको बी-१० कै प्लेटफर्ममा तयार भएको हो । यसलाई कम्पनीले ‘लीप ३.५ मोड्युलर आर्किटेक्चर’मा तयार गरेको हो । यसको उत्पादन कोड नेम ‘बी-०५’ दिइएको छ ।

लीपमोटरको डिजाइनलाई निरन्तरता दिइएको प्रिमियम ह्याचब्याक कारमा कर्भ आकारको एलईडी हेडलाइट, रिट्याक्ट्रेबल डोर ह्याण्डल,स्पोर्टी रुफ स्पोइलर, सिंगल टेललाइट युनिट पाउन सकिन्छ ।
कम्पनीले लाफा-फाइभको छतमा लाइडार दिइएको छ । साना कारहरूमा धेरै कम्पनीले लाइडारको प्रयोग गरेका हुँदैनन् । यसलाई चिर्दै लीपमोटरले लाइडार दिन लागेको हो । कम्पनीले यसमा सेन्सर र क्यामेराको प्रयोग पनि व्यापक गरेको छ ।
लाफा फाइभको लम्बाइ ४,४३० एमएम, चौडाइ १,८८० एमएम र उचाइ १,५२० एमएम छ । यसको ह्वीलबेस २,७३५ एमएम छ।
लाफा फाइभमा लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसमा ५६.२ किलोवाट आवर र ६७.१ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन दिइएको छ । जसले ५१५ र ६०५ किलोमिटरको रेन्ज दिने सीएलटीपीले प्रमाणित गरेको छ ।
लाफा फाइभ फास्ट चार्जरद्धारा चार्ज गर्दा १८ वा १९ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

यसको इन्ट्री भेरियन्टमा १३२ किलोवाटको इलेक्ट्रीक मोटर छ । जुन ८.७ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।
बाँकी चार भेरियन्टहरूमा १६० किलोवाटको मोटर रहेको छ । यो कार ६.५ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ ।
लीपमोटर कम मूल्यको कार, एसयूभी बनाउन परिचित भइसकेको ब्राण्ड हो । स्टेलान्टीस ग्रुपले लगानी गरेसँगै युरोपमा यसको खुबै चर्चा भइरहेको छ ।
नेपाली बजारमा साँग्रिला मोटर्सले लीपमोटरका उत्पादन बिक्री गर्दै आएको छ । अहिलेसम्म कम्पनीले तीन मोडल बजारमा ल्याइसकेको छ । कम्पनीको इन्ट्री मोडल टी-०३ हो भने टप मोडल सी-१० एसयूभी हो । बी-१० एसयूभी पनि कम्पनीले अहिले बुकिङ लिइरहेको छ । छिट्टै बी-१० को डेलिभरी सुरू हुने कम्पनीको भनाइ छ ।


