केरुङमा रोकिएका ३०० बढी कन्टेनर ल्याउन परराष्ट्रलाई महासंघको आग्रह

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले चीनको केरुङ क्षेत्रमा रोकिएका ३०० बढी ट्रक र कन्टेनर नेपाल ल्याउन सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयसँग माग गरेको छ ।

बुधबार महासंघको प्रतिनिध मण्डलले परराष्ट्र मन्त्रालयमा सचिवलाई भेट्दै चीनतर्फ रोकिएका ट्रक र कनटेनर तत्काल नेपाल ल्याउन आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेका दर्जनौं ट्रक र कन्टेनर बगाउँदा ठूलो क्षति पुगेको थियो । साथै, दुई देश जोड्ने मितेरी पुल बगाउँदा ४ महिनादेखि दुई देश बीचको व्यापार ठप्प छ ।

नेपालबाट केरुङ सामान लिन गएका ३०० बढी ट्रक अहिले पनि उतै रोकिएका छन् । ती ट्रकहरू चीनको भन्सार प्रक्रियामा रोकिएकाले महासंघले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग आवश्यक समन्वय गरी नेपाल ल्याउने प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ।

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले चीनमा रोकिएका ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको बताए । उनले ४ महिना बितिसक्दा पनि ढुवानी संचालन हुन नसक्दा व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेको उनले बताए । मन्त्रालयका सचिवले ती कन्टेनरहरू ल्याउन आवश्यक पहल गरिदिने आश्वसन दिएको उनले बताए ।

यसैबीच नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको यान्त्रिक कार्यालय नुवाकोटले रसुवागढी बाढीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरूको मर्मत खर्च सम्बन्धी विस्तृत मूल्याङ्कन विवरण तयार पारेको छ।

कार्यालयका अनुसार बाढीले क्षति पुर्याएका सात वटा मालवाहक कन्टेनर ट्रकहरूको अनुमानित मर्मत खर्च करिब २४ लाख ३० हजार रुपैयाँभन्दा बढी हुने देखिएको छ।

यान्त्रिक कार्यालयका अनुसार, सवारी साधनहरू ढोका लक अवस्थामा भएकाले पूर्ण निरीक्षण गर्न कठिनाइ भएको र प्रतिवेदन बाहिरी निरीक्षणका आधारमा तयार पारिएको हो। त्यसैले वास्तविक मर्मत खर्च फरक पर्न सक्ने उल्लेख गरिएको छ।


Back_to_top